झापा, बैशाख १० । कतारी राजाको भ्रमणमा सरकारले सार्वजनिक विदा दिने गरेको निर्णयको आलोचना गर्दै त्यसलाई केही शिक्षण संस्थाहरुले नमान्ने भएका छन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा सरकारले अनावश्यक रुपमा मंगलवार देशैभर सार्वजनिक विदा दिएको भन्दै त्यसको सामाजिक संजालमा आलोचना भएको हो ।

बिर्तामोड ४ स्थित कंचनजंघा इङ्लिस स्कूलले सार्वजनिक विदाको सरकारी निर्णयलाई नमान्ने भएको छ । सोमवारै मात्र पठनपाठन सुरु भएको विद्यालयको सबै शैक्षिक कार्यहरु बैशाख ११ गते मंगलवार पनि संचालन हुने विद्यालयका प्राचार्य गुरुभक्त न्यौपानेले बताए । त्यस्तै बिर्तामोडका विद्यालयहरुमा संचालन भइरहेको कक्षा ८ को ग्रेडबृद्धि परीक्षा नरोकिने भएको छ । बिर्तामोड नगरपालिकाका शिक्षा शाखाका प्रमुख तिलचन भण्डारीले एक सूचना जारी गरी कक्षा ८ को ग्रेडबृद्धि परीक्षा संचालन भइरहेकाले सरकारले सार्वजनिक विदा दिएको भएपनि पूर्वनिर्धारित कक्षा ८ को परीक्षा बैशाख ११ गते तोकिएकै समयमा संचालन हुने जनाएका छन् ।

राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार सार्वजनिक बिदा हुनेछ । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ ।
उनको भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आउने छन् । नेपालस्थित कतारी राजदूत मिस्हल बिन मोहम्मद अल अन्सारीले भ्रमणको गृहकार्य अन्तिम चरणमा रहेको बताए ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । उनी बुधबार बेलुका नै कतार फर्कने छन् । कतार न्युज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा निस्केका राजाले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ अधिकारीहरूसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरेको छ ।

तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका कतारी अमिर बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् ।
कतारका राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्। दुई दिने राजकीय भ्रमणका लागि भोलि नेपाल आउन लागेका राजा थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्