झापा, बैशाख ११ । झापामा ठूलो परिमाणमा लागूऔषधसहित कारोबारीहरु पक्राउ पर्नेक्रममा आज पनि एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडी दशरथचन्द नगरपालिका वडा नम्बर ८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापा रहेका छन् ।
आज बिहान १० बजेको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिराट आदर्श टोलमा हिडडुुल गरिरहेका बैतडी दशरथचन्द नगरपालिका वडा नम्बर ८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट नेतृत्वको टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३९ ग्राम १० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि हिजो साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धादिङ खन्याबास गाउँपालिका ५ बस्ने २० वर्षीय विनोद तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको थियो । त्यस्तै आइतवार अर्जुनधारा ५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा ठूलो मात्रामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका थिए । पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा नं. ८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरी रहेका छन् । उनको साथबाट ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्