झापा, बैशाख ११ । लागूऔषधको भयावह अवस्था रहेको सीमावर्ती झापामा सशस्त्र प्रहरीले रोकथाम तथा न्यूनीकरणका लागि डग स्निफिङसहितको अभियान सुरु गरेको छ ।

सशस्त्र प्रहरीले लागूऔषधको न्यूनीकरणका लागि तालिमप्राप्त कुकुर परिचालन गरेको हो । सशस्त्र प्रहरी बल नेपालले लागूऔषधको न्यूनीकरणका लागि ल्यावरोडर जोजो नामको कुकुर र विस्फोटक पदार्थको लागि जुलिएट नामको कुकुर स्थायी रुपमा पठाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी कवीन्द्र राईले जानकारी दिए । गत असोज २६ गते झापा ल्याइएका जोजो र जुलिएट कुकुरका लागि चार जना तालिमप्राप्त सशस्त्र प्रहरी खटाइएको छ ।

दुवै कुकुरलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकडभिट्टामा राखिएको छ । लागूऔषध र विस्फोट पदार्थ नियन्त्रणका लागि दैनिक रुपमा काँकडभिट्टा नाकामा डग स्निफिङ गरिरहेको एसपी राईले बताए ।
सशस्त्रले विशेष गरी लागूऔषध नियन्त्रण तथा रोकथामका लागि काँकडभिट्टासंगै भद्रपुरसहितका अन्य नाकाहरूमा पनि छड्के डग स्निफिङ गरिरहेको उनको भनाई छ । सशस्त्रको जोजो नामको कुकुरले सोमबार साँझ ६ बजे मेचीनगर–६ स्थित मेची पुलमा धादिङ खन्याबास गाउँपालिका–५ निवासी २० वर्षीय विनोद तामाङलाई ४३.१५ ग्राम ब्राउनसुगरसहित पक्राउ गर्न सहयोग गरेको थियो ।

भारतको पानीट्यांकी नाकाबाट नेपालतर्फ आउँदै गरेका तामाङले कन्डमभित्र ब्राउनसुगर हाली शरीरभित्र लुकाएर ल्याउन खोजेका थिए । जोजो नामको कुकुरले उनको शरीर सुँघेर ब्राउनसुगर निकालेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता डीएसपी दिनेश कुटवालले जानकारी दिए । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा बुझाइसकेको उनले बताए । त्यस्तै सशस्त्रले कुकुरको सहयोगमा गत पुस ६ गते जुत्ताभित्र ब्राउनसुगर ल्याउने लमजुङ सुन्दरनगर नगरपालिका– ९ निवासी २९ वर्षीय दीपक गैरेलाई पक्राउ गरेको थियो ।

गैरेलाई मेचीनगर–६ मेची पुलस्थित सीमा नाकाबाट १९.६३० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको थियो । जुत्ताभित्र लुकाएर ल्याएको ब्राउनसुगर कुकुरले सुँघेर पत्ता लगाएको थियो । हालसम्म तालिमप्राप्त कुकुरले १०५.०५ ग्राम ब्राउनसुगरसहित ११ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइसकेको सशस्त्रका एसपी राईले बताए ।

‘सशस्त्रले सीमा सुरक्षासँगै अहिले लागूऔषध भित्र्याउनेमाथि विशेष निगरानी बढाएको छ,’ उनले भने, ‘लागूऔषधको अवस्था जिल्लामा भयावह छ, सशस्त्रले काँकडभिट्टा, भद्रपुरसहित अन्य नाकाहरूबाट पनि लागूऔषध बरामद गरिरहेको छ ।’ लागूऔषध नियन्त्रणका लागि नेपाल प्रहरीसहित भारतीय एसएसबीसँग पनि सहकार्य गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्