झापा, बैशाख ११ । झापामा प्रतिबन्धित लागूऔषधसहित मंगलवार थप तीनजना पक्राउ परेका छन् ।

मंगलवार बिहान १० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिराट आदर्श टोलमा बैतडी दशरथचन्द नगरपालिका वडा नम्बर ८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापा ३९ ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए ।

मंगलवार साँझ थप तीनजना पक्राउ परेका हुन् । साँझ ६ः१५ बजेको समयमा मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्यांकीबाट पैदल आउँदै गरेका कमल गाउँपालिका ५ बस्ने २० वर्षीय मनिस मगरलाई शंका लागेर उनको शरीर तलासी लिँदा दाहिने हातमा झुण्ड्याई ल्याएको प्लाष्टिकको झोलाभित्र सेतो रंगको प्लाष्टिकको पोकामा १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

त्यस्तै मंगलवार साँझ ६ बजेको समयमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्वर ९ घर भई दमक नगरपालिका वडा नं.–९ क्याम्पस मोडमा डेरा गरी बस्ने २४ वर्षीय सुजन दाहाल र दमक वडा नं. ९ बस्ने २६ वर्षीय भिष्म कँडेललाई बिशेष सूचनाको आधारमा सुजन दाहाल बसेको कोठामा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले खानतलासी लिँदा ८ ग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्