दमक, बैशाख १२ ।झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई दमक नगरपालिकाले औषधि सहयोग गरेको छ ।

अस्पतालमा बिरामीको चाप धेरै भएको तर औषधिको अभाव भएकाले दमक नगरपालिकाले साढे ३ लाख रुपैयाँ बराबरका बिभिन्न प्रकारका औषधि उपलब्ध गराएको हो । अस्पतालमा बुधवार एक कार्यक्रमका बीच दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले अस्पतालका निर्देशक डाक्टर सिद्धार्थ ठाकुरलाई औषधि हस्तान्तरण गरेकी छन् । अस्पतालमा औषधि आवश्यक परेको देखेर ३ लाख ४८ हजार २ सय ४३ रुपैयाँ बराबरको औषधि उपलब्ध गराईएको भट्टराईले बताइन् । मानवीय सेवाका हिसाबले औषधि उपलब्ध गराईएको उनको भनाई छ । जिल्लाका अन्य पालिकाहरुसंग पनि समन्वय गरेर अस्पतालको सेवा बृद्धि गर्न उनले अस्पताल प्रशासनलाई आग्रह समेत गरिन् ।

औषधि हस्तान्तरण कार्यक्रममा अस्पतालका निर्देशक डाक्टर ठाकुरले अस्पतालमा भौतिक संरचना पर्याप्त भएपनि जनशक्ति र औषधिहरुको अभावका कारण सकेजति सेवा दिन नसकिरहेको बताए । अहिले भएका जनशक्तिले समयभन्दा धेरै काम बाँडफाँट गरेर सेवा प्रदान गरिरहेको उनले जानकारी दिए ।

अस्पतालमा उपचारका लागि बिरामीहरुको चाप दैनिक बढिरहेको भएपनि औषधि अभाव हुँदा बिरामीलाई खाली हात पठाउनु पर्ने अवस्थामा दमक नगरपालिकाले गरेको सहयोग सह्रानीय भएको अस्पतालका निर्देशक डाक्टर ठाकुरले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्