कनकाई, बैशाख १२ । झापाको कनकाई नगरपालिकाले हात्तीपाइलेको औषधि नखानेलाई नगरको सेवा सुबिधाबाट बन्चित गर्ने भएको छ ।

कनकाई नगरले नगरवासीको सबै दुःख सुखमा साथ र सहयोग गरेको बताउँदै नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर यस बर्ष नगरले त्यस्तो निर्णय गरेको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिएका हुन् ।
नगरले नगरवासी सर्वसाधारणकै स्वास्थ्यका लागि कार्डको ब्यवस्था गरेको बताउँदै नगर प्रमुख पोखरेलले हात्तीपाइलेको औषधि नखानेलाई नगर र वडाबाट पाउने सेवासुबिधाबाट बन्चित गरिने स्पष्ट पारे ।

कनकाई नगर हरेक क्षेत्रमा पहिलो हुँदै गएपनि हात्तीपाइले औषधी सेवनमा पछि परेकाले नगरबासी सम्पूर्णलाई यस बर्षको हात्तीपाइले रोगको औषधि सेवन गरेर हात्तीपाइले रोग पूर्ण रुपमा मुक्त गर्न उनले आग्रह गरेका छन् । नगर प्रमुख पोखरेलले यस बर्षदेखि कनकाई नगर हात्तीपाइले रोगमुक्त नगर बनाउन सवैले औषधि सेवन गर्न पटकपटक दोहोर्याए । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान आम औषधि वितरण कार्यक्रमअन्तर्गत कनकाई नगरमा बुधवार प्रधानाध्यापक तथा शिक्षकहरुसँगको पालिकास्तरीय अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख पोखरेलले त्यस्तो आग्रह गरेका हुन् । कनकाई नगरको स्वास्थ्य शाखाको आयोजना तथा सहयोगी संस्था सहारा नेपालको विश्वास परियोजनाअन्तर्गतको फेयरमेड फाउण्डेशन नेपालको सहयोगमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कनकाई नगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।
विश्वका ७२ देशमध्ये ७१ वटा देशमा हात्तीपाइलेको औषधि खुवाइदै गरेको र नेपालका ६४ जिल्लामध्ये ५७ जिल्लामा उक्त औषधि खुवाइने अभियान सम्पन्न भइसकेर ७ वटा जिल्लामा मात्र यस बर्ष औषधि सेवन गराइदै गरेको कनकाई स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दंगालले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशको झापा जिल्लाबाहेक सवै जिल्ला हात्तीपाइले रोगमुक्त भइसकेको छ ।

नगरका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण कनकाई स्वास्थ्य शाखा प्रमुख दंगालले गरेका थिए । प्रस्तुतीकै क्रममा दंगालले हात्तीपाइलेको औषधि नखाने बैदेशिक रोजगारीमा गएका केही फर्केर आएकोसमेत तथ्याङ्क सार्वजनिक गरेका थिए । उनले कनकाई नगरको जनसंख्या करिव ५३ हजार रहेको र त्यसमध्ये यस बर्ष ५१ हजारलाई औषधी सेवन गराइने जानकारी दिए ।

कनकाई नगरसहित झापा जिल्लाभर बैशाख १६ देखि २२ गतेसम्म राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आम औषधि वितरण कार्यक्रम सञ्चालन गरिने कनकाई स्वास्थ्य शाखाकी सिनियर अनमी टीका दवाडीले जानकारी दिइन् ।
कनकाई नगरमा १४ वटा सामुदायिक र २३ वटा संस्थागत विद्यालयमा अध्ययनरत करिव १५ हजार विद्यार्थीलाईसमेत औषधि खुवाइने कनकाई नगर शिक्षा शाखा प्राविधिक रोहित पौडेलले जानकारी दिए । अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले औषधि सेवनमा हुने समस्या र समाधानका बिषयमा जिज्ञासा राखेका थिए । औषधि सेवनका लागि नगर र वडाले विविध कार्यक्रम गरिरहेकोसमेत कार्यक्रममा बताइएको थियो । कार्यक्रममा विश्वास परियोजनाकी सामाजिक स्वास्थ्य सहजकर्ता कोपिला अधिकारी, नगरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्