झापा,बैशाख १३ । सुनसरीको बराह क्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् ।

बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाका मूल आयोजक समितिको तथ्याङ्कअनुसार मेलामा पछिल्लो समय सयौँ दर्शनार्थी सहभागी हुने गरेको महाकुम्भ मेलामूल आयोजक समितिका सचिव चन्द्र मगरले बताए ।

आयोजक समितिले एक महिनाभरमा करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेको थियो । दैनिकरुपमा दर्शनार्थी बढ्दै गएकाले आयोजकले लिएको लक्ष्यअनुसार एक महिनामा ३० लाख दर्शनार्थी सहभागी हुनसक्ने र लिइएको अपेक्षा पूरा हुनसक्ने सचिव मगरले बताए ।

दैनिकरुपमा दर्शनार्थी बढ्दै गएको र दिनानुदिन गर्मी अत्यधिक बढेसँगै व्यवस्थापनमा अझ केही थप गरेर सरसफाइसँगै दर्शनार्थीको लागी सबै ठाउँमा पानीको व्यवस्था र खाना बस्नको सुविधा राम्रो तयार पारेर अगाडि बढी रहेको मूल आयोजक समितिका सहअध्यक्ष तथा बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।

कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ । सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् ।

कुम्भमा सहभागी हुन पूर्वी नेपालका विभिन्न ठाउँबाट मात्र नभएर बैतडी, दाङ, बाजुरा, अछाम, डडेलधुरालगायतका अन्य सबै जिल्लाबाट दर्शनार्थी आइरहेको उनले बताए ।

यस्तै, मधेसका सप्तरी, सिरहादेखि भारतबाट समेत उल्लेख्य रुपमा दर्शनार्थी आइरहेको र अमेरीका, अष्ट्रेलिया, क्यानडालगायका देशबाट भक्तजन मात्र नभएर धर्मगुरुसमेत आएको आयोजकको भनाइ छ ।

टाढादेखि आउने दर्शनार्थीका लागि खाना र बस्नको राम्रो व्यवस्था मिलाइएको छ । यस्तै, यातायात, पार्किङ, खानेपानी, शौचालयजस्ता आधारभूत कुराको राम्रो व्यवस्थापन गरिएकाले अधिकांश दर्शनार्थी सन्तुष्ट र उत्साहित देखिएको सहअध्यक्ष तथा नगरप्रमुख कार्कीको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्