लक्ष्मी उप्रेती,
झापा । झापा कचनकवल ६ निवासी सरिता गुरुङको शव एक महिनापछि बल्ल युएईबाट नेपाल आइपुगेको छ ।

तेजबहादुर गुरुङकी श्रीमती सरिताले करिव एक महिनाअघि युएईमा तीनतले घरबाट हामफालेर आत्महत्या गरेकी थिइन् । गएराति उनको शव आइपुगेर आज परिवारले अन्त्येष्टि गरेका छन् । उनी युएईमा घरेलु कामदारको रुपमा काम गर्थिन् । उनले काम गर्ने घरको बृद्धाको हत्या भएपछि त्यसको आरोप आफूमाथि लाग्ने डरले सरिताले हामफालेर आत्महत्या गरेको हुनसक्ने छिमेकीसमेत रहेका पूर्व प्रदेश सांसद बसन्त बानियाँले बताए । दयनीय आर्थिक अवस्थाका कारण सरिता वैदेशिक रोजगारीमा गएकी थिइन् ।

उता मेचीनगर नगरपालिका—८ सुनगाभा टोलका ४३ वर्षीय तीर्थराज तामाङको दुई साताअघि साउदीमा मृत्यु भयो । गत बैशाख १ गते मृत्यु भएका उनको शव अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन ।

जसले गर्दा परिवारमा झनै निराशा थपिएको छ । उनकी श्रीमती तारा तामाङले आफ्नो श्रीमानको शब नेपाल ल्याईदिन सम्बन्धित निकायलाई आग्रह गरेकी छन् ।

२२ वर्षदेखि मृतक तामाङ वैदेशिक रोजगारीका लागि साउदी जाँदै आउँदै गरेका थिए । पछिल्लो समय उनी २०७९ बैशाखतिर घर आएर पुषमा पुनः साउदी फर्किएको उनका भाञ्जा राजु तामाङले जानकारी दिए । इरानको सेनाले इजरायलमा गरेको ड्रोन र मिसाइल आक्रमणका बखत डिउटीका क्रममा बम लागेर तीर्थराजको मृत्यु भएको परिवारजनले जनाएको छ । मृतक तामाङ भेडाका लागि आवश्यक दानापानी गोठमा पुर्याउने सवारी चालक रहेका थिए ।

मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य चित्रकुमार धिमालले तीर्थराजको मृत्युको खवरले पुरै गाउँ शोकमा डुबेको बताए ।घरको आर्थिक अबस्था कमजोर भएपछि रोजगारीको खोजी गर्दै साउदी गएका तीर्थराजको मृत्यु भएपछि उनको परिवारको बिचल्ली भएको छ । मृतक तामाङका श्रीमती तारा , २० वर्षका छोरा मनोज र १७ वर्षकी छोरी श्रृष्टिका रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्