झापा, बैशाख १४ । झापामा हात्तीपाइले रोग निवारण अभियान सुरु भएको छ ।

स्वास्थ्य कार्यालय झापाले शुक्रबार पत्रकारहरूसँग गरेको अन्तरक्रिया कार्यक्रमपश्चात् हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने अभियानको शुभारम्भ गरेको हो ।

कोशी प्रदेश सांसद छविलाल चुडाल, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, उपप्रमुख शान्ता रोक्का, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला,, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मिलन केसी , सशस्त्रका एसपी कविन्द्र राई , अनुसन्धान कार्यालयका कुलप्रसाद नेपाल, प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्कालगायत सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधिहरूले ९–९ चक्की औषधि खाएर अभियानको शुभारम्भ गरेका हुन् ।


झापासहित सात जिल्लामा यही बैशाख १६ देखि ३० गतेसम्म आम औषधि खुवाउने कार्यक्रम रहेको छ । झापामा औषधि खुवाउने कार्यक्रमको शुभारम्भ गरेपनि बैशाख १६ गते जिल्लाका १५ वटा पालिकाका १३१ वटा एकै पटक अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । झापामा गर्भवती महिला, सिकिस्त बिरामी र दुई वर्ष मुनिका बालबालिकाबाहेक साढे ९ लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । जिल्लामा अघिल्लो वर्ष ७७.६५ ले मात्र औषधि खाएका थिए ।


यस पटक अभियानलाई सफल बनाउन भद्रपुर, कनकाईसहित अन्य केही पालिकाहरूले हात्तीपाइले कार्ड नै जारी गरेका छन् । औषधि खाएका व्यक्तिले कार्ड लिनुपर्ने हुन्छ । कार्ड लिएर पालिकाहरूमा गए मात्र सेवा सुविधा पाउने नियम बनाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्