झापा,बैशाख १५ ।दश स्थानीय तह रहेको खोटाङमा ६० जना क्षयरोगको सङ्क्रमण भएको व्यक्ति भेटिएका छन् । स्वास्थ्य कार्यालय खोटाङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–८० को प्रतिवेदनअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १८, हलेसी तुवाचुङ नगरपालिकामा १७, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा छ, खोटेहाङ र ऐँसेलुखर्क गाउँपालिकामा पाँच–पाँच, केपिलासगढी गाउँपालिकामा तीन, रावाबेँसी र साकेला गाउँपालिकामा दुई–दुई तथा जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा एक–एकजना व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय खोटाङले आज आयोजना गरेको क्षयरोग मुक्त अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा पाँच आर्थिक वर्षको तथ्याङ्क प्रस्तुत गरेको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आर्थिक वर्ष २०७५–७६ मा ६०, २०७६–७७ मा १५, २०७७–७८ मा ३० तथा आर्थिक वर्ष २०७८–७९ मा ४१ जना सङ्क्रमित रहेको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा क्षयरोगीको संख्या बर्सेनि वृद्धि हुँदै गएपछि निवारण गर्न दुईवटा स्थानीय तहका लागि मन्त्रालयबाट बजेट तथा कार्यक्रम आएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चम्लागाईंले जानकारी दिएका छन् । “क्षयरोग निवारण गर्न नेपाल सरकारले स्थानीय सरकारलाई जबाफदेही बनाउने कार्यक्रमहरू ल्याएको छ । यसैअन्तर्गत यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि रु ३० लाख ९७ हजार र हलेसी तुवाचुङ नगरपालिकाका लागि रु २७ लाख ८५ हजार बजेट प्राप्त भएको छ”, उनले भने, “दुईवटा स्थानीय तहमा बढी सङ्क्रमित भेटिएकाले मन्त्रालयबाटै बजेट तथा कार्यक्रम आएको हो । अन्य स्थानीय तहमा कार्यालयबाटै नियमित कार्यक्रम सञ्चालन हुन्छ ।”

क्षयरोग मुक्त नेपाल अभियान खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जिल्लामा देखिएका समस्या समाधानका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् । “क्षयरोग मुक्त नेपाल अभियान सबैको साझा कार्यक्रम हो । यसलाई सफल पार्न सबैको सहकार्य आवश्यक छ”, उनले भने, “नेपाल सरकारको यो अभियानलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ। यसलाई नेपाल सरकारको कार्यक्रम त हो भनेर औपचारिकता पूरा गर्नपट्टि मात्र लाग्नु हुँदैन ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्