झापा,बैशाख १५ । वडा सदस्यहरूको लागि एक दिने क्षमता विकास तालिम बिर्तामोडमा सुरु भएको छ । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले ब्यानर वाचन गरेर उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस प्रकारका तालिम, गोष्ठीले काममा आत्मविश्वास बढ्ने बताइन् । उनले तालिममा सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै जनप्रतिनिधिले जिम्मेवार ढङ्गले प्रस्तुत हुनु पर्ने धारणा व्यक्त गरिन् ।

यस्तै उप प्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले जनप्रतिनिधिले पार्टीगत आधारमा नभई स्वतन्त्र र न्यायिक ढङ्गले जनतालाई सेवा सुविधा दिनु पर्नेमा जोड दिए । उनले स्थानीय सरकारको सुशासन दिने कुरामा पच्पन्न जना जनप्रतिनिधि नै लागेको बताए ।

विकास योजनाको अवधारणा, स्थानीय तहको योजना प्रक्रिया, स्थानीय सुशासन र जवाफ देहिता, जलवायु परिवर्तनमा स्थानीय तहको भूमिका, उपभोक्ता समिति र लेखा पद्धति लगायतका विषयमा तालिम प्रदान गरिनेछ । नगरपालिकाका योजना शाखा प्रमुख जय तिम्सिना, लेखा अधिकृत तेजेन्द्र तामाङ, गैर सरकारी संस्था महासंघका प्रदेश सचिव सोमराज ढकाल र झापा सचिव विजय तिम्सिनाले प्रशिक्षण दिने जनाइएको छ ।

गैर सरकारी संस्था महासंघको सहयोगमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिममा ४३ जनाले सहभागिता जनाएका छन् । तालिम उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, गैर सरकारी संस्था महासंघका अध्यक्ष कृष्ण प्रसाद दंगाल, महासंघका केन्द्रीय सदस्य छवि खतिवडा, कोषाध्यक्ष मनोज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्