झापा, बैशाख १५ । गत शनिवार कनकाई नहरमा डुबेर शिवसताक्षी नगरपालिका–७ का राजवीर ऋषिदेवकी १४ वर्षीया छोरी सन्जु ऋषिदेवको मृत्यु भयो । नहरमा नुहाउन गएकी बालिका डुबेको अवस्थामा मृत फेला परिन् ।


त्यसअघि गत बैशाख ३ गते शिवसताक्षी नगरपालिका– १० निवासी ओमबहादुर बस्नेतका १२ वर्षीय छोरा विवेक बस्नेतको कन्काई नहरमै डुबेर मृत्यु भयो । शिवसताक्षी– ७ स्थित कनकाई नहरको साईफन जालीमा अड्किएको अवस्थामा बालकको शव फेला परेको थियो ।

कन्काई नहरमा डुबेर बैशाख महिनामा दुईजना बालबालिकाको मात्र मृत्यु भएको होइन, करिव तीन वर्षमा सो नहरमा डुबेर २० जनाको ज्यान गइसकेको छ ।२०८० सालमा ८ जना , २०७९ सालमा ६ जना र २०७८ सालमा ४ जनाको डुबेर मृत्यु भएको हो । २०८० मा मृत्यु हुने सबै ८ जना पुरुष हुन् । त्यसमध्ये दुई जना १४ र १५ वर्षका दुईजना बालक छन् । अरु ३२ , ४६,७० , ७५ , ७७ र ८४ वर्षका हुन् । त्यस्तै २०७९ मा १५ महिना, ११ र १२ वर्षका तीन बालबालिकासहित ६ जनाको ज्यान गएको थियो । त्यस्तै २०७८ मा २१ , ३९ , ३९ र ५२ वर्षका एक महिला र ३ पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मृत्यु हुनेहरुको तथ्यांकलाई हेर्दा वर्षेनि बढ्दै गएको छ । गर्मीयाममा नहरमा पौडी खेल्न जाँदा धेरै बालबालिकाहरुले ज्यान गुमाएका छन् । त्यस्तै ७० वर्षका माथिका व्यक्तिहरु मादक पदार्थ सेवन गरेर नहरमा चिप्लेर लड्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । त्यसैगरी नहरमै नुहाउन , लुगा धुन , गाईवस्तुलाई पानी खुवाउन जाँदा अप्रिय घटना हुने गरेको उनले बताए ।

मानवीय क्षति हुन नदिन सचेतना
कन्काई नहरमा हुने गरेको बढ्दो मानवीय क्षति रोक्न प्रहरीले सचेतना कार्यक्रम शुरु गरेको छ । कन्काई नहर भएर बग्ने शिवसताक्षी नगरपालिका वडा नं ७,९, १० र ११ का बासिन्दाहरुलाई प्रहरीले सचेत गराएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।‘हामीले स्थानीय बासिन्दाहरुलाई संझाउने बुझाउने गरेका छौं ’ उनले भने । शिवसताक्षीका ती वडाहरुमा प्रहरीले सचेतनासहितको हार्डिङ बोर्ड राख्ने तयारी गरेको छ । वडा कार्यालयहरुसंग समन्वय गरेर प्रभावित वडाहरुमा होर्डिङ बोर्ड राख्ने तयारी गरिएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।

‘नहर क्षेत्रमा बालबालिका तथा बृद्धाबृद्धाहरुलाई एक्लै जान नदिऔं । नहरमा पौडी खेल्ने, लुगा धुने, नुहाउने जस्ता कार्यहरु नगरौ र गर्न नदिऔं । नहरमा ख्यालठट्टा नगरौं ,अकालमा ज्यान जान सक्छ । नहरभित्र चिप्लो हुनाले पौडीमा दक्ष मानिसको समेत ज्यान जान सक्छ । यदि कोही कसैलाई नहरले बगाएमा वा नहरभित्र डुबेमा तत्कालै नजिकको साथी र प्रहरीलाई खबर गरौं। नहरमा पौडी खेल्न सिक्ने, मनोरञ्जन गर्नेजस्ता जोखिमपूर्ण कार्य नगरौं र गर्न नदिऔं।अमूल्य जीवन जोखिममा पारेर खेर नफालौँ। मादक पदार्थ सेवन गरी नहर वरपर नजाऔं र जान नदिऔं ।’जस्ता सन्देशसहितको होर्डिङ बोर्ड प्रहरीले राख्न लागेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्