झापा,बैशाख १८ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको भोलिपल्ट बिर्तामोडमा तीब्र गतिका कारण दुईवटा स्कुल बस जुधेका छन् ।

बिर्तामोडको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुल र निदी सेकेन्डरी स्कुलको बस एकापसमा जुधेका हुन् । आज साँझ ५.३० बजे बिर्तामोड ४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको निदी स्कुलको ना ६ ख ९३८० नं को बस र दक्षिणबाट उत्तरतर्फ गईरहेको तक्षशिला स्कुलको मे १ ख १७३७ नं को अर्को बस एकापसमा जुधेका हुन् ।

दुर्घटनामा मे १ ख १७३७ नं को बसका चालक तनहुँ बन्दीपुर २ बस्ने ४० वर्षीय तिलक जीसी र सहचालक झापा बाह्रदशी ५ का ५२ वर्षीय रुपनारायण सिग्देल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएको छ । अर्को बसका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यार्थीहरुलाई घर पुर्याएर ती स्कुल बस फर्किदै गरेको बताइएको छ ।झापाका विभिन्न विद्यालयका स्कुल बसहरु तीब्र गतिमा चलाउने गरेको पाइएको छ ।

तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो देखाएपछि गृहले हिजो भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्