झापा,बैशाख १९ । ६ वर्षमा सकिनु पर्ने हात्तीपाइलेको औषधि खुवाउने अभियान १२ वर्षसम्म नसकिएपछि यस वर्ष अन्तिम बनाउनेगरी झापाका पालिकाहरु कम्मर कसेर लागेका छन् ।

बैशाख १६ गतेदेखि शुरु भएको हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रमअन्तर्गत तेस्रो दिनसम्म जिल्लाका एकचौथाई नागरिकले औषधि खाइसकेका छन् । जिल्लाको कुल जनसंख्या १० लाख १२ हजार ६४२ मध्ये तेस्रो दिनसम्म २ लाख ६० हजार ३५१ जनाले हात्तीपाइलेको औषधि खाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जुन २५.७१ प्रतिशत हो ।

जिल्लाका १५ वटा पालिकामध्ये बिर्तामोडले सबैभन्दा धेरै प्रगति गर्दै पहिलो स्थान ओगटेको छ । बिर्तामोडको कुल जनसंख्या १ लाख २० हजार ३३८ मध्ये तेस्रो दिनसम्म ४९ हजार ७७८ अर्थात ४१.३६ प्रतिशतले औषधि खाएका छन् । त्यस्तै दोस्रो स्थानमा कन्काई नगरपालिका रहेको छ । कन्काईले कुल जनसंख्या ५४ हजार २१४ मध्ये तेस्रो दिनसम्म १८ हजार ८६४ अर्थात ३४.७९ प्रतिशतलाई औषधि सेवन गराएको छ । तेस्रो स्थानमा रहेको कचनकवलले कुल जनसंख्या ४० हजार ८५० मध्ये २० हजार ७३ जना अर्थात २९.५५ प्रतिशतलाई औषधि खुवाएर तेस्रो स्थान हासिल गरेको छ ।

तीन दिनको प्रगति विवरण

त्यस्तै मेचीनगरले ३२ हजार ११८ अर्थात २३.७७ प्रतिशत ,बुद्धशान्तिले १२ हजार ९३४ अर्थात २३.८४ प्रतिशत ,अर्जुनधाराले १३ हजार ४ अर्थात १४.९७ प्रतिशत , शिवसताक्षीले १७ हजार ३४६ अर्थात २२.८० प्रतिशत ,कमलले ११ हजार २३३ अर्थात २०.५३ प्रतिशत , दमकले २९ हजार ६१२ अर्थात २६.४३ प्रतिशतलाई हात्तीपाइलेको औषधि खुवाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै गौरादहले ८ हजार ६८३ अर्थात १४.०७ प्रतिशत , गौरीगञ्जले ८ हजार ५२३ अर्थात २४.१३ प्रतिशत , झापा गाउँपालिकाले १० हजार ७२८ अर्थात २७.१९ प्रतिशत , बाह्रदशीले १० हजार ५२५ अर्थात २७.७८ प्रतिशत , हल्दिवारीले ९ हजार १७३ अर्थात २७.९५ प्रतिशत र भद्रपुरले १५ हजार ७५७ अर्थात २२.१४ प्रतिशतलाई हात्तीपाइलेको औषधि सेवन गराएका छन् ।

गत वर्ष झापाको बुद्धशान्तिले सबैभन्दा धेरै ९२ प्रतिशत, गौरीगञ्जले ९१ प्रतिशत , हल्दिवारीले ८९ प्रतिशत , कमलले ८५ प्रतिशत ,बाह्रदशी र गौरादहले ८३–८३ प्रतिशत , बिर्तामोडले ८२ प्रतिशत , मेचीनगरले ८१ प्रतिशत , झापा र कचनकवलले ८०–८० प्रतिशत , शिवसताक्षीले ७१ प्रतिशत , भद्रपुरले ५३ प्रतिशत , अर्जुनधाराले ५० प्रतिशत र कन्काईले ४६ प्रतिशतलाई हात्तीपाइलेको औषधि खुवाएका थिए । यस वर्ष झापासहित सात जिल्लामा बैशाख १६ देखि बैशाख ३० गतेसम्म आम औषधि खुवाउने कार्यक्रम जारी रहेको छ । झापामा विगत १३ वर्षदेखि हात्तीपाइलेको औषधि खुवाउने अभियान जारी छ । डर त्रासका कारण अधिकांशले औषधि सेवन नगर्दा जिल्लामा अभियान सफल नभएको हो ।

गत वर्षको प्रगति विवरण

यस पटक अन्तिम अभियान बनाउन पालिकाका जनप्रतिनिधिसहित सरोकारवाला पक्ष सबै लागिपरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । गर्भवती महिला, सिकिस्त बिरामी र दुई वर्ष मुनिका बालबालिकाबाहेक जिल्लामा साढे ९ लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । जिल्लामा अघिल्लो वर्ष ७७.६५ ले मात्र औषधि खाएका थिए । यस पटक अभियानलाई सफल बनाउन भद्रपुर, कनकाईसहित केही पालिकाहरूले हात्तीपाइले कार्ड नै जारी गरेका छन् । औषधि खाएका व्यक्तिले कार्ड लिनुपर्ने हुन्छ । कार्ड लिएर पालिकामा गए मात्र सेवा सुविधा पाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्