झापा,बैशाख २० गते । झापासहित पूर्वी तराईमा गर्मी बढेपछि बालबालिकामा विभिन्न प्रकारका रोग देखिएको छ ।
गर्मीसँगै ग्यास्ट्रोइंटेस्टाइनल समस्या, ज्वरो, झाडाबान्ता, जन्डिस निम्त्याउने जस्ता संक्रामक रोगको समस्या बढेको हो ।


विशिष्ठिकृत किओच दमक बाल अस्पतालका बरिष्ठ बाल रोग विशेषज्ञ जयमणि श्रेष्ठका अनुसार विभिन्न प्रकारका एलर्जी, फङ्गल इन्फेक्सन, सन बर्न, कीट सम्बन्धी एलर्जी, टाउको दुखाइ, थकान, आँखामा संक्रमण लगायतका समस्याहरु गर्मीयाममा धेरै देखिने गर्छ । केही बच्चाहरूले दमका लक्षणहरूमा वृद्धि अनुभव गर्न सक्ने भएकाले होसियारी अपनाउन उनले अनुरोध गरेका छन् ।

तापक्रम वृद्धिले गर्दा बालबालिकाहरुको शरीरमा पानी कम हुने कारण स्ट्रोक वा बेहोस हुन सक्ने पनि उनले बताए । विभिन्न ब्याक्टेरिया र भाइरसहरू गर्मीमा बढी बाँच्ने हुँदा जसले खाना र पानीबाट हुने रोगहरू निम्त्याउने पनि श्रेष्ठले जनाए । बालबालिकामा व्यवहारमा परिवर्तन तथा मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने उनको भनाइ छ ।

अधिक गर्मीको यो समयमा बालबालिकाहरुको उचित हेरचाह गर्न उनले सुझाव दिएका छन् । दिनभरि प्रशस्त पानी पिउने अवस्था सिर्जना गर्न, बाहिर बजारमा पाइने कृत्रिम जुस वा चिनीयुक्त पेय पदार्थ तथा सोडा नदिन उनको सुझाव छ । “नरिवल पानी प्रशस्त खुवाउँदा राम्रो हुन्छ“, उनले भने ।

बाल अस्पतालमा विरामीहरुको चाप बढेको जनाउँदै बाहिर जथाभावी विषादी हालेर पकाइएका विभिन्न प्रकारका फलफुलहरुको प्रयोगले पनि समस्या आएको भेटिएको श्रेष्ठले बताए । “खरबुजा लगायतका फलफुल खाँदा होशियारी अपनाउनुपर्छ“, उनले भने । सकेसम्म बालबालिकाहरुलाई अहिलेको घाममा नहिडाउन र न्यानो कोठामा रहने अवस्था सिर्जना गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्