बुद्धशान्ति,बैशाख २० । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै बिर्तामोड युनाइटेड एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडले बेलवारी एफसीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हरायो ।
बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुुरुङ, अशिष चापागाईँ र देबेन्द्र तामाङले गोल गर्न सफल भए । बेलबारीका लागि अशोक खवास, मनिष धिमाल, विवेक पौडेल र निशान लिम्बूले गोल गर्न सफल भए । बेलवारीका प्रशान्त अवस्थीको प्रहारलाई बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बूले बिफल बनाइदिए ।

खेलको २५ औ मिनेटमा बिर्तामोड युनाइटेडका अभिषेक गुरुङको क्रसपासमा आशिष चापागाईँले गरेको प्रहार बेलवारीका गोलरक्षक पूर्ण चेम्जोङले उत्कृष्ट बचाउ गरे । ३१ औं मिनेटमा देबेन्द्र तामाङले पेनाल्टी एरिया नजिकैबाट गरेको फ्रिकिक गोलरक्षक चेम्जोङले पञ्च गरेर बचाए । ६८ औं मिनेटमा बैकल्पिक खेलाडी सुजन विश्वकर्माले गरेको प्रहार गोलरक्षकले बचाउ गरेपछि खेलमा अग्रता लिनबाट बिर्तामोड बञ्चित भएको थियो ।
बेलबारीका तर्फबाट खेलको १८ औं मिनेटमा बिरेन लिम्बूको पावरफुल प्रहार गोलरक्षक सन्दिप लिम्बूले बचाए । ४१ औं मिनेटमा बिरेन लिम्बूकै प्रहार बिफल भयो । ५२ औ मिनेटमा निशान लिम्बूले गरेको प्रहार गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

खेलको म्यान अफ द म्याच बिजेता टिम बिर्तामोड युनाइटेडका सन्दिप लिम्बू घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए । शनिबार हुने फाइनल खेलमा बिर्तामोड युनाइटेडले भारतको मानेभन्ज्याङ एफसीसँग प्रतिष्पर्धा गर्ने छ ।
बैशाख १५ गतेदेखि जारी प्रतियोगितामा भारतका दुुईसहित आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले उपाधिसहित नगद २ लाख, ट्रफी, उपबिजेताले नगद एक लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, स्ट्राइकर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने खेल समिति संयोजक मनेष दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्