बिर्तामोड, बैशाख २० । निष्क्रिय रहेको माओवादीनिकट योङ कम्युनिष्ट लिग (वाइसिएल) लाई झापामा विगतजस्तो सक्रिय र ऊर्जाशील बनाउने भएको छ ।

माओवादीनिकट वाइसिएललाई नयाँ शिराबाट पुनर्गठित गर्न छैटौ जिल्ला सम्मेलन आयोजना गरिने भएको हो । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलको झापा जिल्ला भेला बिर्तामोडमा बैशाख २२ गते गरिने बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

नेकपा (माओवादी केन्द्र) झापाका संयोजक संयोजक राजु आचार्य (अग्नि) ले बिर्तामोडस्थित सिटी सेन्टरमा बैशाख २२ गते वाइसिएलको झापा जिल्ला भेला हुन लागेको जानकारी दिए । केही बर्ष अघिदेखि निष्किृय रहँदै आएको वाइसीएललाई चलायमान बनाउने उद्धेश्यले जिल्ला भेला आयोजना गरिएको जिल्ला संयोजक राजुले बताए । पार्टीको युवाहरुको संगठन वाइसिएललाई सुदृढीकरण गरेर झापामा पुनः ऊर्जाशील बनाउने उद्धेश्यले जिल्ला भेला आयोजना गरिएको उनले जानकारी दिए ।

जिल्ला भेलाको उद्घाटन प्रदेश इन्चार्ज हरिबोल गजुरेलले गर्ने कार्यक्रम तय भएको छ । माओवादी केन्द्रका उप–महासचिव अजम्बर राई, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो, केन्द्रीय सदस्य रन्जित तामाङ, सुशिला घिमिरेलगायतले जिल्ला भेलालाई सम्बोधन गर्ने पार्टीका कोशी प्रदेश सचिवालय सदस्य डिल्ली घिमिरे (हिक्मत) ले बताए । भेलाले वाइसिएल झापाको ७५ सदस्यीय नयाँ कार्यसमिति गठन गर्ने छ । भेलाबाट ५३ जना सदस्य चयन हुनेछन् भने अन्य सदस्य मनोनित गर्ने बताइएको छ । भेलामा एक हजार ७ सयबढी युवाहरुको सहभागिता रहने जनाइएको छ ।

भेलाले नगरबाट एक जना महिलासहित ४ जना र गाउँपालिकाबाट एक जना महिलासहित ३ जनालाई समेटेर नेतृत्व चयन गर्नेछ । पत्रकार सम्मेलनमा वाइसिएलका केन्द्रीय सदस्य शिवराज घिमिरे, डेभिड शाही, प्रेम ल्वागुन, कोशी प्रदेश इन्चार्ज कर्मा पुलामी मगर, कोशी प्रदेश संयोजक कुमार आचार्य, सदस्य हिमाल शर्मा, बिनोद मण्डललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्