झापा,बैशाख २१ । गाइने किराको संख्यामा कमी आउन थालेपछि त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा देखिन थालेको छ । गाइने किराको मुख्य आहारा कृषिकर्मलाई असर गर्ने पतेरो, गवारो हुन् ।

गाइने किराको संख्या घट्दा पतेरो, गवारो र लाईको उल्लेख्य वृद्धि भई मुख्य बाली धान, मकै र गहुँको उत्पादनमा कमी आउन थालेको छ ।

सघन धान खेतीमा लामो समयदेखि अनुसन्धानरत कृषि प्रचार अधिकृत कृष्ण धितालले गाइने किराको संख्या घट्दा त्यसको मुख्य आहार बालीलाई हानिकारक मानिएका किराको संख्या बढिरहेको बताए ।

पतेरोले मात्रै धान उत्पादनमा १० प्रतिशतसम्म ह्रास ल्याउने धितालले दाबी गरे । नेपालमा हाल ५६ लाख मेट्रिक टन धान उत्पादन हुने र गाइने किरा जस्ता मित्रजीवको संख्यामा कमी आउँदा त्यसले १० प्रतिशतसम्म धान उत्पादन घटाएको उनले बताए ।

गाइने किराबारे त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका मनोज शर्माले पानीका स्रोत र मुहान प्रदूषित हुँदा गाइने किराको अस्तित्व सङ्कटमा परेको जानकारी दिए । गाइने किराको बासस्थान सफा पानी भएकाले ती किराको संख्यामा कमी आउनु भनेको पानीमा प्रदूषण बढेको पुष्टि गराएको शर्माले जानकारी दिए ।

सफा पानीलाई खेतीमा सिँचाइ गर्दा त्यसले स्वस्थ उत्पादन दिने बताउँदै फोहोर पानी सिँचाइबाट स्वस्थ उत्पादन हुन नसक्ने र त्यसका कारणले उत्पादनमा समेत कमी आइरहेको उनले बताए ।

पानीमा बढ्दो प्रदूषण र सिमसार क्षेत्रको अतिक्रमणका कारण संसारमै गाइने किरा घट्दो क्रममा रहेको र नेपालमा १८२ किसिमका गाइने किरा पाइने शर्माले बताए । नेपालमा पाँच हजार मिटरसम्मको उचाइमा गाइने किरा पाइन्छ । त्यसको संरक्षणमा जनचेतना जगाउँदै गाइने किरा सङ्ग्रहालय बनाउन सरकारसँग माग गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्