झापा,बैशाख २१ । पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो । रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा कम्तीमा ३८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि दुर्घटनास्थलमा उद्धार टोली पठाइएको छ भने घाइते तथा शवलाई चिलासको अस्पतालमा लगिएको छ । स्वास्थ्य विभागका निर्देशकका अनुसार मृतकमा तीन जना महिला रहेको जियो न्युजले जनाएको छ ।

जियो न्यूजसँग कुरा गर्दै डायमरका उपायुक्त फयाज अहमदले कम्तीमा पाँच जना घाइते यात्रुको अवस्था गम्भीर रहेको र दुई जनालाई गिलगिट सहरमा सारिएको बताए । अहमदले दुर्घटनाका पीडित परिवारसँग नियमित सम्पर्कमा रहेको जानकारी दिए । तीव्र गतिका कारण मोड लिने क्रममा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्