झापा,बैशाख २१ । दक्षिण कोरियाले कोरियन भाषा परीक्षाका लागि माग संख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको छ । सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग संख्याकोे तेब्बर बढीमात्रै आवेदन लिने भएको हो ।

त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग ईपीएस कार्यालय, एचआरडी कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि यस्तो सहमति भएको हो ।

माग संख्याकोे आधारमा निकै बढी आवेदन पर्न थालेको भन्दै आवेदनकर्ताको लागि सीमा तोकिएको हो । ईपीएस कोरिया शाखाकी निर्देशक मैया कँडेलले सन् २०२५ देखि माग संख्याकोे तेब्बर बढीमात्रै आवेदन सङ्कलन गरिने बताइन् ।

माग संख्याकोे तेब्बर बढी आवेदन परेसँगै अटोमेटिक रूपमा फारम बन्द हुने उनको भनाइ छ । ‘जस्तै कोरियामा यो वर्ष १ हजार कामदार लैजाने हो भने तीन हजार जना पास गरेर रोष्टर सूचीमा राखिन्छ । त्यसका लागि ९ हजार जनाको मात्रै आवेदन लिइनेछ । ९ हजार जनाको आवेदन पुग्ने बित्तिकै अनलाइन आवेदन फारम अटोमेटिक बन्द हुनेछ,’ निर्देशक कँडेलले भनिन् ।

आवेदनकर्ताको चाप निकै बढी हुने वर्षभरि नै परीक्षा गर्नुपर्ने बाध्यता अन्त्य गर्न यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ छ । ‘त्यसो भयो भने आवेदन दिनेको चाप धेरै हुँदैन र वर्षैभरि जाँच गरिराख्नुपर्ने अवस्था पनि आउँदैन,’ उनले भनिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्