झापा,बैशाख २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयबारे छानबिन थालेको छ ।

हात्तीपाइलेविरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

उनले यसबारे छानबिन गरिएको बताए । बुढाथोकीका अनुसार यो विषय छानबिनका लागि मन्त्रालयका अतिरिक्त सचिवसहितको टोली झापा पठाइसकिएको छ । उनले भने, ‘दीर्घरोगी, भोकोपेट भएका व्यक्तिले हात्तीपाइले विरुद्धको औषधी सेवन गर्नले उल्टी आउने गरेको छ, तर निधन भएको कुनै केस छैन ।’

उनले अगाडि भने, विश्वभरमा खुवाइरहेको हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण मृत्यु हुनु संयोग मात्रै हो,’ उनले भने, ‘यदि हो भने करोडौँमा एक जना हुन्छ ।’

भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको बिहीबार हात्तीपाइले विरुद्धको औषधी सेवनपछि स्वास्थ्यमा जटिलता देखिएर मृत्यु भएको बताइएको छ ।

झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान जारी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्