बुद्धशान्ति, बैशाख २२ । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि आज बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन् ।

यसअघि भएको सेमिफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५–४ र मानेभञ्ज्याङले आयोजक आदर्श क्लबलाई २–० गोलले पाखा लगाउँदै उपाधि भिडन्त तय गरेका थिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख, तथा उपविजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समितिका सचिव दुर्योधनसिंह देवले बताए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, स्ट्राइकर, प्रतियोगिताको उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
बैशाख १५ गतेदेखि जारी प्रतियोगितामा भारतका दुुईसहित ८ टीमको सहभागिता रहेको थियो ।

त्यसैगरी, फाइनल खेलको अवसरमा नेपाली राष्ट्रिय महिला टीमका कप्तान एन्जिला तुम्बापो सुब्बालाई विशेष सम्मानसहित अन्य सम्मानका कार्यक्रम रहेको प्रतियोगिता आयोजक समितिका संयोजक मनेष दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्