झापा, बैशाख २२ । पत्रपत्रिका र एफएम रेडियोहरु एकपछि अर्को बन्द भइरहेका बेला झापामा अनलाइन न्यूज पोर्टल खोल्ने लहर चलेको छ ।

फाइल फोटो

रहर पूरा गर्नकै लागि खोलिएका अधिकांश अनलाइनको न कार्यालय छ न कर्मचारी नै । झोलामा अनलाइन चलिरहेको पाइएको छ । झापामा अनलाइनको संख्या ९२ पुगेको छ । व्यक्तिपिच्छे खोलिएका अधिकांश अनलाइन व्यवस्थित छैनन् । कतिपय अनलाइनले एक वर्षसम्म समाचार पोष्ट गरेको पाइदैन भने कतिपय अनलाइनहरु मासिक , साप्ताहिक पनि रहेका छन् । केही अनलाइनहरु सामान्य एक्टिभ देखिएपनि अर्काको समाचार कपी टु पेष्टको भरमै चलाएका छन् । कपी टु पेष्ट गर्ने प्रवृत्तिले प्रायः सबै अनलाइनमा एउटै समाचार पाइन्छ ।

झापाको पहिलो अनलाइनको रुपमा साझामंच अनलाइन खुलेको थियो । करिव पाँच वर्षमा सयवटाको हाराहारीमा अनलाइन खोलिएका हुन् । तर, एक्टिभका हिसाबले हेर्ने हो भने जिल्लामा मुश्किलले २० वटा अनलाइन मात्र छन् । झापामा अनलाइन खोल्ने लहर चलेको अनलाइन पत्रकार संघ झापाका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए । उनले अव्यवस्थित भएकै कारण अधिकांश अनलाइन अव्यवसायिक रहेको बताए । अनलाइनमा कपी टु पेष्ट गर्ने प्रवृति नराम्ररी झाँगिएको उनको भनाई छ । ‘झापाका अनलाइनहरु तलमाथि डटकम, झोलामा डटकम छन् ’ उनले भने । त्यसो त धेरै अनलाइनहरु बिनादर्ताका छन् । दर्ताबिना नै संचालन भइरहेका अनलाइनका बारेमा कसैले नियमन गरेको पाइदैन । अनलाइनसंगै झापामा फेसबुक पेजमा समाचार हाल्ने प्रवृति पनि बढ्दै गएको छ ।

झापाका अनलाइनहरु

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्