झापा, बैशाख २३ । करिव अढाई सय मिटर टाढा रहेको बिजुलीको ट्रान्सफर्मर बाटो विस्तारका क्रममा आफ्नो घरको छेउमा जबर्जस्ती सार्न लागेको भन्दै बिर्तामोड १० पत्थरभिट्टाका भिष्म दर्नालले न्यायका लागि अपिल गरेका छन् ।

बिर्तामोड १० नं वडा कार्यालय र स्थानीय टोल विकास संस्थाले आफूलाई पेलेर आफ्नो घर छेउको पैनीको जग्गामा ट्रान्सफर्मर राख्न खोजेको उनले गुनासो गरेका छन् । पत्थरभिट्टा जाने सडक विस्तार गर्नेका क्रममा बीच बाटोमा परेको ट्रान्सफर्मर सार्ने विषयमा विवाद भएको हो । आफ्नो भान्सा घरको माथि ट्रान्सफर्मर राख्दा भैपरी आउन सक्ने भन्दै त्यहाँ नसार्न आग्रह गर्दासमेत सुनुवाई नभएको दर्नालले बताए । हाल अटो कुदाएर जीविकोपार्जन गरिरहेका दर्नालले वैदेशिक रोजगारीबाट कमाएको पैसाले १० धुर जग्गा किनेर घर बनाएका छन् । उनको घरको पश्चिमपट्टि करिव ८ फुटको पैनी नक्सामा देखिन्छ । त्यही जग्गामा ट्रान्सफर्मर राख्न खोजिएको हो । ‘ ममाथि अन्याय भयो ’ उनले भने,‘ मलाई न्याय दिलाइदिन सम्पूर्णलाई आग्रह गर्दछु ।’ स्थानीय सरकारले नै अन्याय गर्न खोजेको भन्दै उनले मानव अधिकारवादी, नागरिक समाज , संचारमाध्यमलाई सहयोग गरिदिन अपिल गरेका छन् ।

नम्बरी जग्गामा कसैले सार्न नदिएपछि पैनीको सार्वजनिक जग्गामा ट्रान्सफर्मर सार्न खोजिएको बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले बताए । उनले टोल , वडा र नगरले समेत सोही उपयुक्त ठाउँमा ट्रान्सफर्मर सार्ने सहमति जनाइसकेको जानकारी दिए । भान्सा घरलाई असर पर्ने भए भान्सा घर सार्नको लागि क्षतिपूर्तिको व्यवस्था गर्न सकिने उनको भनाई छ । बाटो विस्तारका क्रममा ट्रान्सफर्मर सार्नु पर्दा छेउछाउमै बाटोको साइडमा सार्नुपर्ने कार्यविधि रहेको नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख संजीवकुमार शाहले बताए । स्थानीय उपभोक्ताहरुको भनाई बमोजिम ट्रान्सफर्मर सार्न लागिएको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्