झापा,बैशाख २३ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेको प्रतिभा टोलबाट तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रेमबहादुर चौहानको २ तले पक्की घरको दोस्रो तलामा तास खेलिरहेकाहरु शनिबार साँझ पक्राउ परेका हुन्। पक्राउ पर्नेमा घरधनी ५९ वर्षीय प्रेमबहादुर चौहान, सुन्दरहरैँचा–१० का ४९ वर्षीय कुमार पुरी, ३६ वर्षीय हेमबहादुर थापा, ४८ वर्षीय ध्रुव अधिकारी, ५० वर्षीय यामकुमार प्रधान, सुन्दरहरैँचा–१२ का ३८ वर्षीय डम्बरराज बस्नेत र केराबारी गाउँपालिका–६ का ४३ वर्षीय रोविनकुमार घिमिरे रहेका छन्।

तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको वरिष्ठ सइ (प्रहरी वरिष्ठ नायव निरीक्षक) शुभेन्द्रकुमार कर्ण नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुको सम्बन्धमा बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार तासको खालबाट ६८ हजार १ सय १५ रूपैयाँ नगद र चार बुङ (२ सय ८ पत्ती) ताससमेत बरामद भएको छ। पक्राउ परेकाविरुद्ध कानुनी कारबाही अघि बढाउन आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया सुरु गरिएको जानकारी बस्नेतले दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्