झापा,बैशाख २३ । नेपालबाट भारत निकासी हुने नेपाली चियालाई भारत पक्षले फेरि रोकेको छ । चियाको प्रयोगशाला परीक्षण गर्ने बहानामा भारतले पछिल्लो पटक दुई दिनदेखि नेपाली चिया रोकेको हो ।

बैशाख पहिलो साता पनि रोकिएको चिया खुल्ला गरेको केही दिनमै पुुनः भारतले रोकिदिएको इलामको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए ।

‘अहिले सीटीसी चियाका गाडी भारतको पानीट्यांकीमा रोकिएको छ । चियामा पुनः अवरोध भएपछि हामीले यहाँबाट चिया पठाएका छैनौ’ कट्टेलले भने, ‘प्रत्येक गाडीको प्रयोगशाला परीक्षण गर्नुपर्ने भारतको शर्त हुन्छ । प्रत्येक गाडीलाई पानीट्याङ्कीमा लगेर कम्तीमा १५ दिन उभ्याउन हाम्रो खर्चले धान्दैन ।’

कट्टेलका अनुसार एक गाडी चियाको नमुना पठाएर त्यसको रिपोर्ट आउन करिब १५ दिन पर्खनुपर्छ । १५ दिनसम्म भारतीय भूमिमा पुगेको गाडीको खर्च नै धान्न नसक्ने अवस्था रहेको कट्टेलले बताए । परीक्षण गर्न एक गाडी चिया पठाउँदा रिपोर्ट आउने समयसम्म करिब एक लाख भारतीय रुपियाँ खर्च हुने गरेको बताइएको छ ।

‘अस्ति प्रधानमन्त्रीलाई हामीले ज्ञापनपत्र बुझाएर चिया खुल्ला गर्ने वातारण बनाउन माग गरेका थियौ, तत्कालका लागि गाडी खुल्ला भयो । फेरि केही दिनमै अवरोध भएको छ’ कट्टेलले भने, ‘हामीले गत वर्षजस्तो चियाको प्रयोगशाला परीक्षण गरेपछि कम्तीमा तीन महिना त्यही रिपोर्टलाई आधार मान्नुपर्ने आवाज उठाउँदै आएका छौ । सरकार चियाप्रति गम्भीर देखिएको छैन ।’

गुणस्तरीय चिया उत्पादनको मुख्य यो सिजनमा इलाममा मात्र करिब ११ लाख किलो तयारी चिया गोदाममै थन्किएको छ । इलाम र पाँचथरबाट निकासी हुने अर्थोडक्स चिया प्रायःजसो नासा, आइओएमजस्ता अन्तर्राष्ट्रिय संस्थाबाट अर्गानिक प्रमाणीकरण भएर निकासी हुनेगरेको व्यवसायीको भनाइ छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको नौ महिनामा दुई अर्ब १८ करोड ८९ लाख २२ हजार रुपियाँ बराबरको ९८ लाख चार हजार ११ किलो चिया निकासी भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ६६ करोड ५४ लाख १८ हजार रुपियाँ मूल्यको एक करोड ३३ लाख ११ हजार ३ सय ४८ किलो चिया निकासी भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्