झापा, बैशाख २३ । प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार अचानक फुटेको छ ।

एमाले–माओवादी नेतृत्वको सरकारलाई जोगाउन र माधव नेपालले गरिरहेको प्रधानमन्त्री बन्ने कसरतलाई असफल बनाउन जसपामा विभाजन गरिएको तथ्य खुलेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणबाट नफर्कँदै आइतबार जसपा फुटाइएको हो । स्वदेश फर्केपछि अध्यक्ष यादवले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने र माधव नेपाललाई बहुमत पुर्याउन सघाउने प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई डर थियो । जबकि यादव प्रचण्ड सरकारकै उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री छन् ।
उपेन्द्र यादवले अर्को गठबन्धनलाई सघाएमा अब उनीसँग १२ को साटो पाँचजना सांसद मात्र रहनेछन् । बाँकी ८ जनाले भने प्रचण्ड सरकारलाई नै साथ दिने छन् । यो विभाजन प्रचण्ड नेतृत्वको सरकारलाई ढाल्नका लागि नभई जोगाउनका लागि भएको देखिएको छ ।

अशोक राईको नेतृत्वमा ७ सांसदले गरेको दल विभाजनमा बहालवाला वनमन्त्री नवलकिशोर साह सुडीसमेत सहभागी हुनुले पनि के पुष्टि गर्छ भने अशोक राईको नेतृत्वमा फुटेको जसपा प्रतिपक्षमा बस्नका लागि नभई सरकारमै रहनका लागि हो । ‘हामीले पटक–पटक सरकारको स्थायित्वबारे कुरा गरेका थियौँ तर नेतृत्वले त्यता ध्यान नदिएपछि हाम्रो विकल्प भएन’ जसपा नेता एवं मन्त्री साह भन्छन्, ‘सरकारलाई स्थिरता दिनका लागि पार्टी विभाजन गरेका छौँ ।’

प्रचण्ड नेतृत्वको सरकारले पछिल्लो पटक विश्वासको मत लिँदा पक्षमा १५७ मत खसेको थियो । माधव नेपालको पार्टीले समर्थन झिक्दा सरकारको मत १४७ हुन जान्थ्यो । यसमा जसपाका १२ सांसद सरकारबाट बाहिरिँदा प्रचण्ड नेतृत्वको सरकारलाई १३५ जनाको मात्र समर्थन रहन गई अल्पमतमा पर्ने र ढल्ने डर थियो ।अब उपेन्द्र यादव र माधव नेपालले समर्थन नगर्दा पनि प्रचण्डसँग १४२ मत अर्थात बहुमत बाँकी रहनेछ र सरकार ढाल्न खोज्ने माधव नेपालको प्रयास असफल हुनेछ । यही आकलनसहित जसपालाई फुटाएर प्रचण्ड सरकारलाई सुरक्षित गरिएको जसपाका विद्रोही सांसदको तर्क छ ।
यसैबीच अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ ।जसपा नेपालकै जस्तो संगठनात्मक संरचना रहनेछ । आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन् ।

पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन् भने केन्द्रीय अध्यक्षमा अशोक राई हुनेछन् । केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी भूमिकामा क्रयाशील हुने जसपा नेपालको जस्तो अभ्यास यो पार्टीमा पनि हुन्छ । पार्टीको सहअध्यक्षमा रेणु यादव रहनेछिन् भने उपाध्यक्ष ४ जना रहनेछन् । नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष रहनेछन् । महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो रहनेछन् । विभाजित पार्टीमा संघीय संसदका ७ जना सांसद छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमानसिंह पनि नयाँ पार्टीमा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्