झापा, बैशाख २४ । झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरु भेटिन थालेका छन् ।

हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत घरदैलोका क्रममा जिल्लाका सबै पालिकाहरुमा हात्तीपाइले रोगको लक्षण भएका व्यक्तिहरु भेटिएका हुन् । गत वर्षको तथ्यांक अनुसार झापामा १५० को हाराहारीमा हात्तीपाइलेका रोगीहरु भेटिएका थिए । यस वर्ष त्यसको निकै गुणा रोगीको संख्या बृद्धि हुने आकलन गरिएको छ । जिल्लाका २० प्रतिशत विरामीहरु मात्र खुलेर बाहिर आएको र ८० प्रतिशत बिरामीहरु लुकेर बसेकाले यस वर्षको अभियानमा त्यस्ता धेरै विरामीहरु भेटिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सम्पन्न भइसकेपछि नयाँ थपिएका विरामीहरुको संख्या यकिन हुने कार्यालय प्रमुख बाह्रकोटीले जानकारी दिए ।

कचनकवल गाउँपालिकाका ७ प्रतिशतमा हात्तीपाइलेको संक्रमण रहेको तथ्यांक छ । जवकि त्यहाँको जनसंख्या ४२ हजार ९१२ रहेको छ । त्यस आधारमा त्यहाँ मात्र ३ हजारभन्दा बढी हात्तीपाइलेका विरामी रहेको समीक्षा गरिएको छ । त्यस्तै झापा गाउँपालिकामा ४ प्रतिशत हात्तीपाइलेको विरामी रहेको तथ्यांक छ । झापा गाउँपालिकाको कुल जनसंख्या ३९ हजार ३०२ को ४ प्रतिशत भनेको करिव १५७२ जना हो । यसरी झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरु रहेका छन् ।

बिर्तामोडमा गत वर्ष एकजना हात्तीपाइलेको विरामी सार्वजनिक भएकोमा यस वर्ष खोज्दै जाँदा करिव १० जना नयाँ विरामी भेटिसकेको र अझै भेटिने क्रममा रहेको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । विहीबार भद्रपुरमा एकजना रोगी भेटिएका थिए । भद्रपुर –९ हडिया चिया बगानमा कार्यरत एकजनामा हात्तीपाइलेको लक्षण पाइएको नगर स्वास्थ्यकर्मी एल. वी. पन्तले जानकारी दिए । त्यस्तै कमल गाउँपालिकाभित्र औषधि खुवाउने क्रममा एकजना महिलामा हात्तीपाइलेको लक्षण देखिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । त्यस्तै मेचीनगरमा पनि हात्तीपाइलेका लक्षण भएका विरामीहरु फेला परेको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् ।

जिल्लामा ठूलो संख्यामा हात्तीपाइलेको रोगी रहेकाले रोगलाई नियन्त्रण गर्न भ्रामक हल्लाको पछि नलागी ढुक्क भई आम औषधी सेवन गर्न सम्पूर्ण जिल्लावासीलाई वरिष्ठ जनस्वास्थ्य अधिकृत बाह्रकोटीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्