झापा, बैशाख २६ । हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियानमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरिसकेपछि बिर्तामोड नगरपालिकाले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।


बिर्तामोड नगरपालिकामा १ लाख १० हजार ३५५ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउने लक्ष्यका साथ बैशाख १६ गतेदेखि घरदैलो कार्यक्रम शुरू गरिएको थियो । हिजो बैशाख २५ गतेसम्म लक्ष्यभन्दा बढी १ लाख १६ हजार १६० जनालाई औषधि सेवन गराउन सफल भएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले बताए । उनले हिजोबाट घरदैलो कार्यक्रम सम्पन्न भएको र छुटेकाहरुलाई वडा कार्यालयमार्फत औषधि सेवन कार्यक्रम चलिरहेको जानकारी दिए । औषधि खान छुटनेहरुले आ–आफ्नो वडामा रहेको स्वास्थ्य संस्थाबाट बैशाख ३० गतेसम्म सेवन गरिदिनुहुन उनले आग्रह गरेका छन् । जिल्लाका १५ वटा पालिकामध्ये बिर्तामोड नगरपालिका हात्तीपाइले रोग निवारण अभियानमा उत्कृष्ट भएको छ ।

यसैबीच बिर्तामोडमा हात्तीपाइलेका १० जना नयाँ रोगी भेटिएका छन् । वडा नं ५ का ४ जना , ६ मा ३ जना तथा वडा नं १, ४ र ८ मा एक–एकजना रोगी भेटिएको सिनियर अहेव सापकोटाले जानकारी दिए । त्यस्तै ८ जना शंकास्पद व्यक्ति भेटिएका छन् । उनीहरुको मुटु र मिर्गौला जाँच गरेपछि मात्र हात्तीपाइले हो वा होइन भनेर यकिन हुने सापकोटाको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्