शिवगञ्ज, बैशाख २७ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा जेष्ठ नागरिकको भवन बन्न थालेको छ ।

वडा गौरवको योजना जेष्ठ नागरिकको भवन हिजो शिलान्यास भएको हो । वडा अध्यक्ष मनोज खुलाल कार्की, जेष्ठ नागरिक समाज शिवसताक्षीका अध्यक्ष अम्बिकाप्रसाद घिमिरे र सहारा नेपालका क्षेत्रीय संयोजक लोकवहादुर रोक्काले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

जेष्ठ नागरिक भवन स्थानीय जनआदर्श माध्यमिक विद्यालयको जग्गा परिसरमा निर्माण हुने वडा अध्यक्ष खुलालले बताए । उनका अनुसार सहारा नेपाल साकोस र वडा कार्यालयको १०–१० लाख गरेर २० लाखको लागत सहभागितामा भवन निर्माण हुने भएको हो । सहारा नेपाल साकोसका क्षेत्रीय संयोजक रोक्काले वडा अध्यक्षले सो योजना ल्याएकोमा धन्यवाद दिए ।

कार्यक्रम भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र लुईटेलको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा वडा सदस्य गोमा रिजाल, सहारा साकोसका शिवगञ्ज सेवाकेन्द्र प्रमुख नारायण पौडेलले पनि मन्तव्य राखेका थिए । भवन शौचालयसहित दुई कोठा र एउटा हल भएको हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्