झापा,बैशाख २७ । मोरङबाट प्रहरीले बिहीबार बिहान ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका–३ हात्तीबन्दाबाट २ सय १८ किलोग्राम गाँजा बरामद भएको हो । गाँजासहित एकजना पक्राउ परेका छन् ।

जहदा गाउँपालिका–३ का ३४ वर्षीय भगवान किस्कु पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार मकैबारीभित्र लुकाइछिपाइ राखेको अवस्थामा २ सय १८ किलो गाँजा बरामद भएको हो।

मकैबारीभित्र बनाइएको टहरामा गाँजा लैजाँदै गरेको अवस्थामा किस्कुलाई पक्राउ गरिएको जानकारी बस्नेतले दिए । मकैबारीभित्र लुकाएर राखिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर किशोर तामाङ र इलाका प्रहरी कार्यालय रानीबाट इन्सपेक्टर सन्दीप बेलबासेको नेतृत्वमा खटिएको संयुक्त टोलीले बिहान १ ः३० बजेतिर गाँजा बरामद गरेर किस्कुलाई पक्राउ गरेको हो ।

बरामद भएको गाँजासहित पक्राउ परेका किस्कुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर थप अनुसन्धान अघि बढाइएको छ । किस्कुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । उक्त गाँजा भारततर्फ कटाउने तयारी गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले बरामद गर्दा प्लाष्टिकको बोराभित्र भुस हालेर त्यहाँभित्र गाँजा राखिएको थियो । ‘गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमानजिकै पर्छ । पहाडी जिल्लामा उत्पादन भएको गाँजा अवैध हिसाबले भण्डारण गरेर भारततर्फ लैजान खोजिएको हो,’प्रहरी स्रोतले भन्यो,‘तत्काल बरामद गर्न सकिएका कारण भारत भने पु¥याउन पाएनन् । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

स्रोतका अनुसार पक्राउ परेका किस्कु गाँजाको अवैध धन्दा चलाउने गिरोहका भरिया मात्रै हुन् । गाँजाका वास्तविक कारोबारीको भने पहिचान खुल्न बाँकी छ । प्रारम्भिक अनुसन्धानबाट प्राप्त विवरण र किस्कुले दिएको जानकारीका आधारमा गाँजाको अवैध धन्दामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्