बिर्तामोड,बैशाख २८ । बैंक तोडफोडको घटनामा संलग्नमाथि प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको छ ।

आज अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुर्गा प्रसाईको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को नागरिक युवा दस्ताले बिर्तामोडका तीन वटा बैंकमा हिजो ढुंगा हानेको थियो ।

बिर्तामोडको एभरेष्ट बैंक , ज्योति विकास बैंक र एनआइसी एसिया बैंकमा ढुंगा प्रहार भएको हो । तोडफोडमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड ३ बस्ने २७ वर्षीय मनकुमार तामाङ, बुद्धशान्ति ४ का ३४ वर्षीय अन्जेस राई (बुलेट किराँती), सोही ठाउँका १६ वर्षीय दिपेश राई र बिर्तामोड ४ बस्ने १८ वर्षीय पवन दुलाल रहेका छन् । आपराधिक गतिविधिमा संलग्न भएकाले म्याद थप गरी उनीहरुमाथि अनुसन्धान शुरु गरिएको डीएसपी विष्टले जानकारी दिए ।

गत वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले ऋणीलाई सास्ती दिएको भन्दै बर्दिया राजापुरका खुसीराम चौधरी आत्महत्या गरेको आरोप लगाइएको छ । त्यसैको विरोधमा दुर्गा प्रसाईको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को युवा संगठन नागरिक युवा दस्ताले बैंकमा तोडफोड गरेको थियो । हिजो बिहान ११.४० बजेको समयमा बिर्तामोड ५ स्थित सिटीसेन्टर अगाडिबाट राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको नागरिक युवा दस्ताद्वारा बैंक तथा वित्तीय संस्थाले गरेको ज्यादती विरुद्धमा पैदल र्याली आयोजना गरिएको थियो । नागरिक युवा दस्ता झापाका कार्यकारी प्रमुख भिम तुम्बाम्फेको नेतृत्वमा अन्दाजी ४०–५० जनाको संख्यामा भेला भई सिटीसेन्टरबाट मुक्तिचोकतर्फ जाँदै गरेको अबस्थामा र्यालीका सहभागीहरुले ज्योति विकास बैंक र एभरेष्ट बैंकमा ढुंगा हानेका थिए ।

यसअघि गत असोज २५ गते अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा नागरिक अभियानका कार्यकर्ताहरुले सवारीसाधन तोडफोड गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्