झापा, बैशाख २९ । तीनजनाले प्रधानाध्यापक दाबी गरेपछि कमल गाउँपालिका ६ स्थित वाणी माध्यमिक विद्यालयको शैक्षिक गतिविधि प्रभावित भएको छ ।

तीनजनाले आफू आफूलाई प्रधानाध्यापक दाबी गरेपछि नयाँ विद्यार्थी भर्ना , दिवा खाजा कार्यक्रम, राष्ट्रिय परीक्षा बोेर्डमा पठाउनु पर्ने विद्यार्थीको प्रयोगात्मक परीक्षाको अंक, शिक्षक कर्मचारीको तलव भुक्तानीजस्ता अति आवश्यक कामहरु प्रभावित बनेको हो ।

अरुण भण्डारी अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समिति र विद्यालयबीचको विवादका कारण विगत दुई महिनादेखि समस्या बढ्दै गएको हो । विद्यालय व्यवस्थापन समितिसंगको विवादका कारण प्रधानाध्यापक लक्ष्मीप्रसाद डाँगीले राजीनामा दिएर तेजनाथ भट्टराईलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएका थिए । तर, विद्यालय व्यवस्थापन समितिले शिक्षक जगन्नाथ फागोलाई निमित्त प्रधानाध्यापक नियुक्त गरेपछि विवाद चुलिएको हो । त्यसमा पनि पछिल्लो समय शिक्षकहरुले राजीनामा दिएका लक्ष्मीप्रसाद डाँगीलाई नै प्रधानाध्यापकको जिम्मेवारी दिनुपर्ने माग राखेका छन् । यसरी प्रधानाध्यापकको लागि तीनजनाको दाबी आएपछि विद्यालयको कामकाज प्रभावित बनेको छ ।

गाउँपालिकाले छिटोभन्दा छिटो प्रधानाध्यापकको विवाद समाधान गर्न विद्यालय व्यवस्थापन समितिलाई पत्र पठाएको कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए । विवादका कारण विद्यालय व्यवसथापन समितिका अध्यक्ष भण्डारीले राजीनामा दिएको बताइएको छ । त्यस राजीनामाका बारेमा गाउँपालिकामा जानकारी आइनसकेको शिक्षा शाखा प्रमुख न्यौपानेले बताए ।

यसैबीच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाले विद्यालयको प्रधानाध्यापक नियुक्ति सम्बन्धमा देखापरेको अन्योलका कारण अति आवश्यक क्रियाकलापहरु प्रभावित भएको तथा यसबाट आम विद्यार्थीको भविष्यमाथि खेलवाड भएकोले तत्काल समस्याको समाधानको निम्ति विधिसम्मत प्रधानाध्यापक छनोट प्रक्रिया टुंगो लगाएर अन्योलपूर्ण अवस्था निराकरण गर्नका लागि कमल गाउँपालिका शिक्षा शाखाको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्