झापा,बैशाख ३० । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने सरकारको निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि राष्ट्रपति पौडेलले नेपाललाई स्पष्टिकरण सोधेका थिए। त्यसपछि उनले राजीनामा दिएका हुन्।

सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि उनले त्यसमा असन्तुष्टि जनाएका थिए। उनले भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यता बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय भएको तर्क गरेका थिए।

यद्यपि यसअघिको सय रुपैयाँको नोटमा गभर्नर रहँदा नेपालकै हस्ताक्षर छ। सोही पुरानो नक्सालाई परिवर्तन गरी सरकारले नयाँ नक्सासहितको नयाँ नोट ल्याउने निर्णय गरेको हो। नेपालको अभिव्यक्तिलाई लिएर एमाले अध्यक्ष ओलीले नेपालको बोली राष्ट्रपतिकै हो वा नेपालको हो यसबारे प्रष्ट पार्नुपर्ने राष्ट्रपतिलाई प्रश्न गरेका थिए।

सो अभिव्यक्ति आर्थिक सल्लाहकारको हो भने राष्ट्रपतिजस्तो सम्मानित संस्थामा त्यस्ता व्यक्ति राख्न नहुने भन्दै ओलीले विरोध जनाएका थिए। उनको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्