झापा, बैशाख ३० । बाटोमा हिड्दा ठोक्किएकै निहुँमा मोरङका २४ वर्षीय शम्भु धिमालको काठमाडौंमा हत्या भएको छ ।

गएराति काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा बाटोमा हिँड्दै गर्दा धिमालमाथि चक्कु प्रहार भएको हो । उक्त घटनामा परी मृतक धिमालका साथी २३ वर्षीय मनिष चौधरी घाइते भएको बताइएको छ । झगडा हुँदा धिमालमाथि चक्कु प्रहार गरिएको र घटनालगत्तै सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । राति बाटोमा हिँड्दै गर्दा धिमाल र पक्राउ परेका एक अर्कासँग ठोक्किँदा झगडा सुरु भएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘गएराति दुई समूहबीच झगडा हुँदा एकको मृत्यु भएको छ, घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दा नाबालक रहेको खुल्न आएकाले नाम सार्वजनिक गरिएको छैन, उक्त विषयमा थप पुष्टि गर्ने कार्य भइरहेको छ ।’

मृतक धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्