झापा, बैशाख ३० । मोरङका अलगअलग स्थानमा आइतबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन्।


मदन भण्डारी लोकमार्गअन्तर्गत केराबारी गाउँपालिका–५ बगैंचा चोकमा पिकअप भेनले अटो टेम्पोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ । बा११च २९२८ नम्बरको पिकअपले प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको अटोलाई आइतवार दिउँसो २ः४५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटो चालक केराबारी–६ का ४५ वर्षीय मेखबहादुर मगरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका मगरलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्।

उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन्। पिकअप चालक मोरङको बूढीगंगा गाउँपालिका–२ का ३२ वर्षीय शिवकुमार ऋषिदेव, अटोमा सवार केराबारी–६ की ६० वर्षीया हरिमाया मगर, सुनसरीको धरान उपमहानगरपालिका–११ की ३० वर्षीया सीता मगर, सीताकी छोरी १० वर्षीया प्रशुना मगर र छोरा ७ वर्षीय एग्रिल मगर घाइते भएका छन्।
घाइतेमध्ये हरिमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पिकअप चालकबाहेक अन्यको अवस्था मध्यम छ। दुर्घटना परेर दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन्। सामान्य उपचारपछि पिकअप चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।

त्यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पथरीबाट लेटाङको जाँतेतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ७२१५ नम्बरको मोटरसाइकल दिउँसो ४ः३० बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक लेटाङ नगरपालिका–८ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको डीएसपी बस्नेतले बताए। उनका अनुसार गम्भीर घाइते भएका दिपेशलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा साँझ ६ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी बस्नेतले दिए।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार दिपेशकी पत्नी २१ वर्षीया ललिता राई (मगर) गम्भीर घाइते भएकी छन्। मदन भण्डारी अस्पतालमा सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ। डीएसपी बस्नेतले दुवै दुर्घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्