माधब कल्पित,
देश अहिले तरल राजनीतिक अबस्था , भष्टाचार, महँगी , बेरोजगारी र आर्थिक मन्दीका कारण संकटमा फसेको छ । जनतामा सरकार तथा पार्टीहरुप्रति बढ्दै गएको बितृष्णाका कारण अहिले नागरिक विकल्प खोज्न बाध्य भएका छन् ।पार्टीहरुको सत्ता लिप्सा र सिद्धान्तविहीन राजनीति, देश र जनताप्रतिको गैरजिम्मेवारी र कुर्सीमाथिको खिचातानीको फाइदा अरुले नै उठाउन लागिरहेका छन् । पश्चिमा मुलुकहरु नेपाललाई आफ्नो उपनिबेश बनाउने दाउमा पहिलेदेखि नै आँखा गाडेर बसिरहेका छन् । यता विश्वमा तेस्रो शक्तिको रुपमा स्थापित हुँदै गरेको भारत उनीहरुका लागि तगारो बनेको छ । भारतलाई भबिष्यमा चुनौती दिनकै लागि अमेरिकाले अहिले एम.सी. सी. मार्फत नेपालमा आफ्नो बर्चस्व जमाइसकेको छ ।उता चीन नेपाललाई आफ्नो पकडमा राखेर भारतबिरोधी गतिविधि नेपालबाट सञ्चालन गर्ने दाउमा रहेको छ । नेपालमा स्थिर सरकार बन्न नदिने र नेपालीको राजनीति सँधै दिल्लीबाट चल्नु पर्छ भन्ने धारणा बनाएको भारतले सडकदेखि सदनसम्म आफ्ना ‘रअ’का एजेन्ट राखिसकेको छ । यहाँ सबै पार्टीभित्र ‘रअ’को गिरोहले आफ्नो सञ्जाल बिस्तार नै गरिसकेको भेटिन्छ । भारत आफ्नो स्वार्थका लागि सदियौदेखि नेपाललाई आफ्नो प्रयोगशाला बनाउन चाहन्छ । नेपालमा दीगो शान्ति हुनु र नेपाली जनता सम्बृद्धिको बाटोमा लाग्नु भारतका लागि दुर्भाग्य हो । यसकारण पनि ऊ नेपाल सम्बृद्ध भएको हेर्न चाहन्न । भारतले चाहेकोजस्तो नीति तथा कार्यक्रम बनाउनु पर्ने । दिल्लीको कृपा रहेसम्म मात्रै आफू सत्तामा टिक्न सकिने ।
दिल्लीको निर्देशन पालना गर्न नसके रातारात सत्ता परिवर्तन हुने प्रथा २००७ साल अघिदेखि नै नेपालमा चलिरहेको छ । हिजो प्रजातन्त्र प्राप्तिका लागि वी. पी ., पुष्पलालदेखि प्रचण्डसम्मलाई भारतकै कृपाले ब्यक्तिबाट पार्टी र पार्टीबाट सरकारमा पुर्यायो । आज पश्चिमा मुलुकको इशारामा जन्मिएको रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी पुराना पार्टीको विकल्पका रुपमा जनताले चाहेका थिए । २१ सिट दिएर सदनभित्र त पुर्याए, तर रवि स्वयं यो र त्यो बिषयका मुद्धामा फसेको र उनका कमजोरीलाई समाएर उनको पार्टी र अस्तित्व नै सक्नेगरी कान्तिपुर मिडियालगायत उनले नै उजागर गरेका १२ भाइहरु लागेका छन् । १२ भाइको अगाडि उनी १ भाइको केही चल्दैन । उनलाई सत्तामा पुगेपछि सबै शक्ति प्रयोग गरेर ब्यबस्थामा आमुल परिवर्तन ल्याउँछु भन्ने जोश थियो । त्यो क्षणभरमै नैराश्यतामा परिणत भएको छ । राजनीतिमा कलिलो अनुभव भएका रविलाई कहाँ थिच्दा कहाँ बज्छ भन्ने राम्रो ज्ञान थिएन । उनी सिधा बाटोबाट सिंहदरबार छिरेका हुन् । अबको केही समयपछि उनलाई सिंहदरबारबाट हिरासत छिराउने खेल सुरु भैसकेको छ । उनको पार्टी छोटो समयमा जसरी उदायो ,अब त्यसरी नै अन्त्य हुने संहारमा पुगिसकेको छ । रविलाई सक्नेहरु रविलाई नै सत्तामा पुर्याउनेहरु हुन् । चेसको खेलमा अर्काको पिप्पसो खाइदिँदा आफ्नो मन्त्री ढलेजस्तै प्रचण्ड सरकारको आयु महिनाबाट दिनमा परिणत भइसकेको छ ।
भारत अहिले आफ्नो चुनावी मैदानमा रहेको छ । भारतको चुनाव सकिनेबितिकै भारतमा भन्दा पहिले राजनीतिको नतिजा नेपालीको आउने छ । यो परिवर्तन एमाले र काँग्रेस ,काँग्रेस र माओवादी अथवा अरु कुनै यो र त्यो दल मिलेर सरकार बनाउने हिजो अस्तिको खेलजस्तो नभएर २०१७ सालको जस्तो खेल दोहोरिन सक्ने छ । यो बिषयमा यति मात्रै संकेत गर्न उचित ठानेको छु । नेपालीको राजनीति नेपालीपन र नेपाली मनबाट चल्नै सक्दैन नेपालमा उद्योगधन्दा कलकारखाना खुल्न नसक्नु नेपाली बजारमा उत्पादित सामानले नेपालमा नै बजार पाउन नसक्नुको पछि भारतको ठूलो हात छ । नेपाली बजारमा आफ्ना उत्पादित सामान भित्र्याउने, बजार बढाउने , नेपाली भूमिमा केही उत्पादन हुन नदिने, बीउबिजन उतैबाट आउने । यहाँका कृषि उत्पादनलाई शुन्यमा परिणत गरिदिन भारतको रणनीति रहेको छ ।सबैतिरबाट शिथिल भएपछि विवश भएर नेपाली संकट झेल्न नसकेर बिदेश पलायन हुनु पर्ने । किनकि उसले नागरिकता बिधेयक परिवर्तन गराएर आफ्ना ४० हजारबढी भारतीयलाई नेपाली बनाइसकेको छ । ७ हजारबढी भारतीय कम्पनी र ब्यापारी प्रतिष्ठानहरु उसले नेपालभित्र खडा गरिसकेको छ । भारतको कूटनीति, नागरिक र ब्यापारी अखडासंगसंगै भूगोल अतिक्रमण हो । पश्चिमा मुलुकहरुको मिसनसहितको धार्मिक अखडाले अबको २० देखि ३० बर्षको हाराहारीमा हाम्रो पहिचान, अस्तित्व, भूगोल,भाषा,धर्म र संस्कृति नै सखाप हुने अबस्थाबाट मुलुक अघि बढिरहेको छ ।सन् २०२६ सम्ममा १ लाखमाथि भारतीय नागरिकलाई नेपाली बनाउने उसको लक्ष्य रहेको छ भने पश्चिमाहरु सो समयसम्ममा नेपालका गाउँ–गाउँमा चर्च र घर–घरमा बाइबल पुर्याउनेगरी भित्रिएका छन् ।
बिदेशीको इशारामा सत्तामा पुगेका पार्टीहरुबाट जनतालाई सुखी नेपाली र सम्बृद्ध नेपालको सपना मात्रै बाँडियो । सम्बृद्ध नेपालको ३४ बर्षसम्म जनतामा आभास हुन सकेको छैन । सत्तामा पुगेका पार्टीहरु जनताप्रति पूर्ण वफादार भएर लागिनपरेका कारण जनतामा अहिले ब्यबस्थाप्रति नै बितृष्णा पैदा हुन थालेको छ ।
बैंक , लघुबित्त र मिटरब्याजीका कारण घरजग्गा लिलाम भई सडकमा निस्कनु पर्ने अबस्थामा जनता पुगिसकेका छन् । देशभित्र भएका सबै कलकारखाना उद्योगधन्दा फेरि सञ्चालनमा आउनै नसक्नेगरी डुबेर चौपट भएका छन् । उद्योग बाणिज्य तथा यातायात क्षेत्र पूर्ण रुपमा धराशायी बन्न पुगेको छ । जनता सहारा र साथको खोजीमा भौतारिरहेको बेला सरकार जनताको पीडाबाट बेखबर छ । सुनिने, देखिने र भेटिने तीनै तहका सरकारहरुबाट जनताले राहतको महसुस गर्न सकेको पाइन्न । यस्तो अबस्थामा दुर्गा प्रसाई नेतृत्वमा रहेको राष्ट्र ,राष्ट्रियता, धर्म,संस्कृति तथा नागरिक बचाउ महाअभियान अहिले जनताको सारथीका रुपमा जन्मिएको देखिन्छ ।
कोभिड १९ बाट विश्व अर्थतन्त्रमा आएको गिरावटसंगै नेपाली अर्थतन्त्रमा छाएको मन्दीलाई माथि उठाउन सरकार तथा यहाँका उद्योगी ब्यवसायीहरु र लगानीकर्ताहरुको चासो बढ्न नसक्नु र देशको ४० प्रतिशतभन्दा माथिको आर्थिक स्रोत तस्करी प्रथाबाट कालो धनका रुपमा बाहिरिनुले आज नेपालको अर्थतन्त्र मात्रै होइन, जनताको जीवन नै धरापमा परेको बेला जनताको सारथी बनेर जनताका दुःख पीडामा मल्हमपट्टी लगाउँदै हिडेको नागरिक बचाउ अभियानले अकल्पनीय तवरबाट निकट भबिष्यमा नेपालमा निकै ठूलो उचाइ लिने देखिन्छ । नेपाली राजनीतिमा निकै ठूलो परिवर्तन आउने दिशामा देश दौडिरहेको छ । तपाईलाई यसो भनिरहँदा र यो लेख पढिरहँदा आश्चर्य लाग्न सक्ला तर आश्चर्य नमान्नु होस् । आश्चर्य मान्ने दिन त्यति टाढा छैन । निकट भबिष्यमै नेपाली राजनीतिभित्र निकै नै ठूलो आश्चर्य पैदा हुने तयारीमा छ ।
(लेखक क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय संयोजक हुन् )