झापा,बैशाख ३१ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका कार्कीले सदनबाट आफूलाई बहुमत सिद्ध गरेका हुन् । संविधानको धारा १६८ (५) अनुसार गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले उपधारा ४ अनुसार आज विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिए । ६२ उपस्थित रहेको प्रदेशसभामा नेकपा एमालेका ३९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका तीन र जनता समाजवादी नेपालका एक प्रदेशसभाले मत दिए ।

उनको पक्षमा ५७ मत खस्यो भने विपक्षमा कसैले पनि मतदान गरेनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मतदान प्रक्रिया नै बहिस्कार गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच सांसद तटस्थ बसे ।

कोशी प्रदेश सरकारको गठनबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विश्वासको मत लिन लागेकोमा विमति जनाएको कांग्रेसले मतदान प्रक्रिया बहिष्कार गरेको हो ।आजै संसदीय दलको बैठक बसेर कांग्रेस यस्तो निधोमा पुगेको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको समर्थनमा बैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कोशीमा नयाँ सरकार गठन भएपछि प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनेगरी प्रस्तावको सूचना प्रदेशसभामा दिएका थिए । सोहीअनुरूप मुख्यमन्त्री कार्कीले आफूलाई सदनबाट बहुमत सिद्ध गरेका हुन् ।

कोशी प्रदेशसभामा ९३ सांसदमध्ये बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसदको प्रतिनिधित्व छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्