कुमरखोद , बैशाख ३१ ।झापा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ ।


पालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ५ वटा सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत ३४३ विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो । साइकल पाउने विद्यार्थीहरुमा डिल्लीराज माविका १२५ , कुवाडीदेवी माविका २८ , महेन्द्र माविका २४ , जनता माविका १३१ र जनकल्याण माविका ३५ जना रहेको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् । झापा गाउँपालिकामा सामुदायिकतर्फ मावि ५ वटा , निमावि ५ वटा र प्रावि स्तरका ११ वटा गरी कुल २१ विद्यालयहरु रहेका छन् ।

पालिकाले विपन्न परिवारकालाई लक्षित गरी ल्याएको यो कार्यक्रमले विद्यार्थीलाई आवतजावतमा सुविधा पुग्नुका साथै विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि हुने, विद्यार्थीको हौसलामा बृद्धि भई विद्यार्थीहरु नियमित विद्यालय आउने कार्यवाहक अध्यक्ष थपलियाले बताइन् । उनले २९ लाख बराबरको रकमबाट विद्यार्थीहरुको लागि साइकल खरिद गरेको जानकारी दिइन् ।

साइकल वितरण कार्यक्रममा शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । ढकालले शैक्षिक पहुँचमा अभिवृद्धि गर्ने उद्धेश्यले विद्यार्थी भर्नालाई टिकाई राख्न , विद्यालय र घरको पहुँचलाई टाढा नबनाउन विद्यार्थीलाई साइकल वितरण गरेको बताए।

कार्यक्रममा झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शिक्षा क्षेत्रमा पालिकाले ३ करोडभन्दा वढी रकम विनियोजन गरेको बताए । शिक्षाकै विनियोजित बजेटबाट साइकल खरिद गरिएको बताए । कार्यक्रममा वडा अध्यक्ष सखिचन्द्र ठाकुर , झापा गापा शिक्षक महासंघका सचिव टिकाप्रसाद कट्टेल , शिक्षा समिति सदस्य सुन्दरलाल गणेशलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्