झापा, जेठ १ । सरकारको आगामी आर्थिक वर्ष ०८१÷८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुने भएको छ।

फाइल तस्वीर


आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

तर संसद्को गतिरोध अन्त्य गर्ने विषयमा भएको सत्तारुढ दलको छलफलमा जुटे पनि कुनै निष्कर्षमा पुगेका छैनन्। दलहरुको आ–आफ्नै अडानले आज पेश हुने नीति तथा कार्यक्रम नै प्रभावित हुने जोखिम देखिएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागका कारण सदन दुई महिनादेखि अवरुद्ध छ। आज सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यतालिका रहे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडानका कारण संसद्को गतिरोध अन्त्य हुने संकेत अझै देखिएको छैन।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेका छन्।

उनले आज बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्