विनोद सापकोटा
झापा, जेठ १ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले इलामको संघीय र बझाङको प्रदेश निर्वाचनको मतपरिणामले नेकपा एमाले मुलुककै सर्वश्रेष्ठ राजनीतिक पार्टी प्रमाणित भएको दावी गरेका छन् । उनले नेकपा एमाले अन्य राजनीतिक पार्टीको पनि नेता पार्टी भएको दावीसमेत गरे ।


नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको ३५औं स्थापना दिवसको अवसरमा झिलझिलेमा आयोजित सातौं पूर्ण बैठकको उद्घाटन गर्दै नेकपा एमाले झापाका इन्चार्जसमेत रहेका भट्टराईले इलाम र बझाङको मतपरिणामले मूलतः नेपालमा स्थापित राजनीतिक दलका लागि तीनवटा महत्वपूर्ण सन्देश दिएको बताए ।
उनले भने,‘नेकपा एमालेले कुनै पनि हालतमा निर्वाचन जित्दैन भन्नेहरूका लागि इलाम र बझाङको मतपरिणामले पहिलो शक्तिका रुपमा नेकपा एमाले स्थापित भएको प्रमाणित गरेको छ ।’

भट्टराईले नयाँ शक्ति अर्थात् रवि लामिछानेले नेतृत्व गरेको घण्टी चुनाव चिन्हको राष्ट्रिय स्वतन्त्र पार्टीले जहाँ उम्मेदवार उठायो, त्यहाँ चुनाव जित्यो भन्ने पछिल्लो जनलहर भ्रमका रूपमा सिद्ध रहेको बताए । उनले भने ‘पहिचानको मुद्दा लिएर निर्वाचनमा होमिएको एउटा क्षेत्रीय शक्तिलाई पनि उछिन्न नसक्नु कस्तो खालको राष्ट्रिय पार्टी हो ।खहरे भेल आउँछ तर छोटो समयमा स्याप्पै सुक्छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि त्यस्तै देखिन थालेको छ ।’

उनले हाम्रो पार्टी सरकारमा गयो भने भ्रष्टाचारका ठुला फायल खोल्ने र क्रमैसंग भ्रष्टहरुका पाता फर्काउने भन्ने यसअघिका अभिव्यक्ति स्टन्टबाजी भएको आरोप लगाए । ‘गोडा दुई–एक युट्युवर लिएर अघिपछि दौडाउँदैमा जनताको अभिमत जित्न नसकिने पनि उनले बताए । सहकारीको अर्बौ रुपैयाँ चुर्लुम्म बनाउने व्यक्ति नै बर्तमान सरकारको गृहमन्त्री हुँदा उनको राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनताले के आशा गर्लान् ? उनले प्रश्न गरे ।

पार्टी पोलिटब्युरो सदस्य भट्टराईले पूर्वमा नेकपा एमालेले प्रदेशको नामांकन गर्ने विषयमा जाहेर गरेको मत इलामको मतपरिणामले सत्य साबित गरिदिएको बताए । प्रदेशको नाम कोशीको विषयमा उठेको राजनीतिक विवाद इलामको मतपरिणामले सही कि गलत भन्ने विषयमा सही जवाफ दिएको उनले बताए । ‘यदि नेकपा एमालेको नेतृत्वमा रहेको तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले प्रदेश सभाबाट दुइतिहाईभन्दा धेरै मतले अनुमोदन गरेको कोशी प्रदेशको नाम गलत भन्नेहरूका लागि यो मतपरिणामले जवाफ दिएको बताए । उनले भने,‘ ढुंगा हान्नेहरुले पनि अब धेरै बुझेर पश्चाताप गरे होलान् ।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले झापाका पालिकामा हुने पार्टीको नगर र गाउँ अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन हुनुपर्नेमा जोड दिए । विभिन्न गुट उपगुटका साथ कसैको अभीष्ट पूरा गर्नका निमित्त व्यक्तिगत रूपमा कसैले उम्मेदवारी घोषणा गर्दछ भने नेकपा एमालेका लागि त्यो घातक हुने उनले बताए ।
झापामा कमल गाउँपालिकाबाट सहमतीय नेतृत्व चयन भएको हुँदा जिल्लाका अन्य १४ पालिकाले यसलाई उदाहरणको रुपमा लिन पनि उनले आग्रह गरे ।

नेकपा एमाले झापाका अध्यक्षसमेत रहेका संविधानसभाका सदस्य प्रेम गिरीले स्थानीय तहको बजेट तथा नीति कार्यक्रममा युवामैत्री बजेटका लागि स्थानीय तहलाई खबरदारी गर्न युवालाई सुझाएका छन् ।

कार्यक्रममा युवा संघकी केन्द्रीय सचिव अनिता कन्दङ्वा, युवासंघका केन्द्रीय सचिवालय सदस्य तथा झापा इन्चार्ज खगेन्द्रराज आङदम्बे ,केन्द्रीय सचिवालय सदस्य सागर पोर्तेल, निशा लिम्बूलगायतले बोलेका थिए । कार्यक्रम राष्ट्रिय युवा संघ झापाका संयोजक फुर्वा लामाको अध्यक्षतामा भएको थियो । लामाले ल्याएका सबै प्रस्ताव बैठकका सहभागीले ताली बजाएर पास गरेका थिए । उनले ८ वटा महत्वपूर्ण प्रस्ताव बैठकमा ल्याएका थिए ।

सो कार्यक्रममा नेकपा एमाले झापाको नयाँ नेतृत्वलाई सम्मान गरिएको छ । पार्टी अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुंगेल, उपसचिव अनिता कन्दङ्वा, सदस्य निशा लिम्बू, सागर पोर्तेललगायत कार्यक्रममा उपलब्ध जिल्लाका कार्यकारी नेतृत्व तथा जिल्ला सदस्यलाई सम्मान गरिएको थियो ।

यसअघि राष्ट्रिय युवा संघ नेपालको ३५ औ स्थापना दिवसको अवसरमा शिवसताक्षी नगरको वडा नम्बर १० स्थित लक्ष्मी नाराययण मन्दिरका ३० जना वृद्धवृद्धालाई खाद्यान्न सहयोग गरिएको थियो । युवा संघले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न प्रदान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्