झापा,जेठ २ । विराटनगरमा काँचो केरा लोड गरिएको पिकअप गाडीबाट ठूलो परिमाणको लागूऔषध गाँजा बरामद भएको छ । नेपाल–भारत सीमानजिक विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट प्रहरीले मंगलबार राति ११ः३५ बजेतिर २ सय ५० किलोग्राम गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअपलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा भेटिएको थियो।
पिकअपलाई बाटोको साइडमा रोकेर केरा र गाँजा अनलोड गर्दै गरेको विशेष सूचना प्राप्त भएपछि नियन्त्रणमा लिन मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले टोली परिचालन गरेका थिए। बोरामा प्याक गरेर पिकअपको पछाडि डालामा राखिएको अवस्थामा गाँजा बरामद भएको एसपी कार्कीले बताए।

उनका अनुसार काँचो केरा लोड गरिएको पिकअपबाट गाँजा बरामद भएपछि चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राईलाई पक्राउ गरिएको छ। केरा ओसारपसार गरेको देखाएर गाँजाको अवैध धन्दा चलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘केराको आवरणमा गाँजा तस्करी गर्ने गरेको खुल्यो,’ एसपी कार्कीले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ।’

उनका अनुसार पिकअपको डालोमा गाँजा तल राखी माथिबाट केराले छोपिएको थियो। पिकअप र गाँजासहित पक्राउ परेका चालकका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ। चालक राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रहरीका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा अवैध बाटोको प्रयोग गर्दै सुरक्षाकर्मीलाई छलेर भारत कटाउने गरिएको छ। बरामद भएको गाँजा पनि भारततर्फ लैजानका लागि सीमा क्षेत्रनजिक पु¥याइएको प्रहरीको भनाइ छ। नेपालमा भन्दा भारतमा दोब्बर बढी मूल्य पाइने भएका कारण अवैध धन्दामा संलग्नले विभिन्न उपाय लगाएर तयारी गाँजा भारत पुर्‍याउने गरेका हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्