झापा,जेठ २ । मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नगरपालिका–७, कालीखोलास्थित त्रियुगा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

त्रियुगाकै सिवाही, बेलकाको गिदेरीखोला, धाप्लाङ सुनकोशीलगायतका अन्य कतिपय ठुला पक्की पुलको निर्माण वर्षौंदेखि अलपत्र परिरहेको तर तोरीबारी कालीखोलाको यो पुल भने निर्धारित समयसीमाभन्दा एक वर्षअगावै सम्पन्न हुन लागेको निर्माण कम्पनीले जनाएको छ ।

दुई स्पान र तीन वटा पिल्लरको करिब नौ मिटर चौडाइ तथा ८२ मिटर लम्बाइ रहेको पक्की पुल निर्माण गर्न कोशी प्रदेश सरकारले ११ करोड ३६ लाख ८५ हजार रुपियाँ उपलब्ध गराएको पूर्वाधार विकास कार्यालय उदयपुरका साइट इन्जिनियर विवेकानन्द झाले बताए ।

वीरेन्द्रनगर सुर्खेतका वाइएसएस निर्माण कम्पनीले ठेक्का सम्झौता गरी २०८० साल असोज १ बाट निर्माणको काम थालेको हो । निर्माण गर्न सुरु गरेको नौ महिना पनि नबित्दै मङ्गलबार दोस्रो स्पान पनि ढलान गरेपछि करिब ९० प्रतिशत काम सम्पन्न गरेको र यही महिनाभित्रमा पुलको सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको इन्जिनिएर झाले बताए ।

निधारित समयभन्दा एक वर्षअगावै निर्माण सम्पन्न गर्ने गरी आपूmहरूले २०८० साल वैशाख ११ गते सम्झौता गरेको र सो अनुरूप निर्माणको काम तीव्र रूपमा अगाडि बढाइएको र कार्यालयले पनि काम सम्पन्न भए अनुसार रकम भुक्तानी दिइरहेकाले अबको एक महिनाभित्रमा काम सम्पन्न गर्नमा आफूहरूलाई आर्थिक अभाव पनि नभएको निर्माण व्यवसायी महेशकुमार रेग्मीले बताए ।

निर्माण कार्य सम्पन्न भएको आधारमा करिब सात करोड रुपियाँ भुक्तानी भइसकेको र अब बाँकी काम सम्पन्न भएको अवस्थामा करिब चार करोड रुपियाँ भुक्तानी दिनुपर्नेमा आगामी असार मसान्तसम्ममा काम सम्पन्न गरी भुक्तानी दिन कुनै कठिनाइ नभएको इन्जिनियर झाले बताए ।

पुल निर्माणको कामसँगै त्रियुगा नदीको दुवै किनारामा पुलभन्दा माथिको भागमा दुई-दुई सय र तलको भागमा ५०-५० मिटर गरी करिब पाँच सय मिटर लामो तारजाली लगाएर नदी नियन्त्रणको कामसमेत सम्पन्न भइसकेकाले अबको दुई महिनाभित्रमा अर्थात् निर्धारित समयभन्दा करिब एक वर्षअगावै पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गरी हस्तान्तरण गर्ने क्रममा रहेको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर लक्षमण बस्नेतले बताए ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतले द्रुत गतिमा यस किसिमको उदाहरणीय कार्य गर्ने निर्माण व्यवसायीलाई रकम अभाव हुन नदिन आफूले सकेसम्म पहलकदमी गरेको र तोरीबारी मदन भण्डारी सडक अन्तर्गत रहेको त्रियुगा पुलका लागि तत्काल बजेट व्यवस्था गर्ने विषयमा कोशी प्रदेश सरकारसँग बारम्बार ताकिता गरिरहेको बताए ।

अब दोस्रो स्पानको पनि स्ल्याब ढलान सम्पन्न भएपछि पुलको रेलिङ र वारिपारि दुवैतर्फ एप्रोच सडक निर्माणको काम मात्र बाँकी रहेकाले अबको दुई महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न गरिने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्