झापा,जेठ ३ । २ किलो ६५४ ग्राम कोकिनसहित काठमाडौंबाट तीन जना विदेशी महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २ जना युगान्डाका र एक जना भारतीय महिला छन्। उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी लागु औषध ब्युरोले बिहीबार सार्वजनिक गरेको हो।

ब्युरोका एसएसपी गोविन्द थपलियाका अनुसार वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगालालाई सिनामंगलबाट पक्राउ गरिएको थियो।

चेकजाँच गर्दा प्रहरीले उनको पेटमा निलेर राखिएको अवस्थामा केही रहेको शंका गरी परीक्षणका लागि नेपाल प्रहरी अस्पताल लगिएको थियो।

उपचार पद्दतीबाट उनको पेटबाट ९० वटा कोकिनका क्याप्सुलहरू निकालिएको एसएसपी थपलियाले जानकारी दिए। प्लाष्टिकले ¥याप गरी निलेर ल्याइएको अवस्थामा फेला पारिएको कोकिन जोख्दा १ किलो २६० ग्राम पाइएको उनले बताए।

अर्की महिला लिलियन सुसन वेनेन्जलाई धोबिचौरबाट पक्राउ गरिएको एसएसपी थपलियाले जानकारी दिए।

उनको सुटकेशभित्र स्निकर चकलेटमा लुकाइ छपाइ राखिएको ६३ वटा प्लास्टिकले ¥याप गरिएको कोकिनका क्याप्सुल भेटिएको थियो। जोख्दा उक्त कोकिनको परिणाम १ किलो ३९४ ग्राम पाइएको एसएसपी थपलियाले बताए।

अनुसन्धानकै क्रममा उक्त कोकिन लिन आउने भनिएको भारतीय नागरिक ३३ वर्षीया देवाजनी पाललाई धोबीचौरकै अर्को होटलबाट पक्राउ गरिएको उनले जानकारी दिए।

यसरी बरामद गरिएको कोकिनको परिमाण २ किलो ६५४ ग्राम रहेको एसएसपी थपलियाले जानकारी दिए।

पक्राउ परेका तीन जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।बरामद गरिएको कोकिनको अवैध बजार मूल्य सात करोड ९६ लाख रहेको एसएसपी थपलियाले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्