झापा,जेठ ३ । ताप्लेजुङमा पर्यटन महोत्सव बिहीबारदेखि सुरु भएको छ । ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन, ताप्लेजुङको पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा अवलोकन’ भन्ने नाराका साथ सदरमुकाम फङ्लिङमा पर्यटन महोत्सव सुरु भएको हो । आजदेखि सुरु भएको महोत्सव यही जेठ ७ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवको पहिलो दिन विभिन्न सांस्कृतिक झाँकीसहित फङ्लिङ बजार परिक्रमा गरिएको छ । बजार परिक्रमापछि कार्यक्रमस्थल हुलाक टोलमा पुगेर महोत्सवको औपचारिक उद्घाटन गरिएको छ । कार्यक्रमस्थलमा घरेलु उत्पादनका सामग्रीसहित औद्योगिक प्रदर्शनी, मौलिक खाद्य परिकारजस्ता व्यापारिक स्टलहरु राखिएका छन् ।

यस्तै, जिल्लाको पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी स्टल पनि राखिएको छ । यसैगरी, महोत्सवको आकर्षणमा आजदेखि नै फङ्लिङ नगरपालिकाको आयोजनामा अन्तरपालिकास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

त्यस्तै खुला म्याराथन प्रतियोगिता, महिला हाफ म्याराथन प्रतियोगिता, चोयाको डोको र पातको टपरी बुन्ने प्रतियोगिता रहेका छन् ।

महोत्सवमा डोको क्यारी रन (डोको बोकेर दौडने) प्रतियोगिता पनि राखिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको महोत्सवमा खेलकुद गतिविधि साथै सांस्कृतिक कार्यक्रमहरु पनि रहेका छन् । साङ्गीतिक कार्यक्रमअन्तर्गत प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका संयोजक एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्