झापा,जेठ ३ । सुनजस्तो पहेलो धातुको टिल देखाई महिलाहरुलाई ठगी गर्ने एकजनालाई दमकबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नं.५ क्षेत्री बाहुन टोल बस्ने ३० वर्षीय सन्जित शर्मा रहेका छन् । उनले दमक नगरपालिकाको हाटबजार क्षेत्रमा जेष्ठ नागरिक र महिलाहरूलाई विभिन्न मितिहरुमा सुनजस्तो पहेलो धातुको टिल देखाई नगद तथा महिलाहरुले लगाएका सुनका गर–गहनाहरुसँग सट्टापटा गरी ठगी गरेका थिए । त्यस उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा हिजो बिहान १० बजे दमक ६ स्थित पशुहाटबाट उनलाई पक्राउ गरिएको हो ।

उनको साथबाट ५६.३१० ग्राम सुनजस्तो देखिने पहेंलो धातु बरामद भएको छ । उनलाई पक्राउ गरी आज झापा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थपको लागि कानुनी प्रक्रिया प्रारम्भ गर्नुका साथै सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्