बिर्तामोड, जेठ ३ । बिकर्ण श्रेष्ठको चार गोलको मद्धतमा फराकिलो जित निकाल्दै आयोजक रातो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा आयोजकले पाहुना टोली इलामको एमसीसी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो ।

इलामलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब रातो अन्तिम चारमा प्रवेश गरेको हो ।
बिकर्णले खेलको १० औँ, २२ औँ, २६ औँ र ४० औँ मिनेटमा गोल गरे । त्यस्तै, खेलको ३० औँ मिनेटमा विशाल राई ए र ३४ औँ मिनेटमा रमेश गुरुङले एक–एक गोल गरे ।

प्रतियोगिताको प्लेयर अफ द म्याच ४ गोलकर्ता बिकर्ण श्रेष्ठ भए । उनले नगद २५०० र ट्रफी पाए ।
भोलिको पहिलो सेमिफाइनल खेल आयोजक निलो र चन्द्रगढी भेट्रान्स एफसीबीच हुनेछ । त्यस्तै, विराट मेगा भेट्रान्सले फाइनल प्रवेशका लागि पर्सी आयोजक रातोको सामना गर्नेछ ।कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवाहक अध्यक्ष दिपेन चौधरीले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ पाउने चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५०० र ट्रफी पाउने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्