झापा,जेठ ४ । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । तमोर कोरिडोर सडक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन फलामेटारमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।

प्रहरी हवलदारको नेतृत्वमा ५ जनाको टोली अस्थायी प्रहरी पोष्टमा रहने छन् । तमोर कोरिडोर सडक अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको १ सय १२ किलोमिटरको दूरीमा पछिल्लो समय दैनिक ३ सय बढी सवारीसाधन सञ्चालनमा आउने गरेका छन् । उक्त सडक खण्ड अन्तर्गत पाँचथर खण्डमा एकमात्र प्रहरी चौकी रहेको र शान्तिसुरक्षाका दृष्टिले धनकुटातर्फ प्रहरी चौकी थप गरिनुपर्ने माग बढेकोले पहिलो चरणमा फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

चौबिसेको पालिका केन्द्र राजारानीबाट सवारीसाधनमा करिब दुई घण्टा दुरीमा रहेको तमोर कोरिडोर क्षेत्रमा प्रशासनको समेत दृष्टि कम पर्ने भएकोले प्रहरी चौकी थप गरिनुपर्ने स्थानीयले माग गर्दै आएका थिए । पछिल्लो समय वन पैदावार चोरी निकासी हुने, तमोर नदीमा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रम बढेकोले त्यसको नियन्त्रणका लागि प्रहरी निगरानी जरुरी स्थानीयको माग रहेको थियो । हाल सञ्चालनमा आएको प्रहरी पोष्टलाई प्रहरी चौकीको रूपमा स्तरवृद्धि गर्ने पहल भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए । उनले सडकमा सञ्चालन हुने सवारी साधनको चेकजाँचलाई कडाइ पारिने बताए ।

अस्थायी प्रहरी पोष्टको चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल तथा जिल्ला प्रहरी प्रमुख श्यामसिंह चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्