झापा,जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिने भएका छन्।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन्।

उनले जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन्।

प्रधानमन्त्रीले पठाएको पत्र प्राप्त भएको र सोही अनुसारको तयारी थालिएको सभामुखको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्राबधान छ।

जसपा फुटेपछि वैशाख ३१ गते उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको यो चौथोपटक हो।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।

२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो।

नयाँ समीकरण बनेको ९ दिनमा फागुन ३० गते उनले तेस्रोपटक विश्वासको मत लिएका थिए। त्यतिबेला १५७ सांसदले पक्षमा मतदान गरेका थिए।

२७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मत पाउन १३८ सांसदको समर्थन आवश्यक रहन्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्