बिर्तामोड, जेठ ४ । आयोजक पूर्वेली युवा क्लब निलो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा झापाको चन्द्रगढी भेट्रान्स एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक निलो उपाधिनजिक पुगेको हो ।
खेलको ४८ औँ मिनेटमा पूर्वेलीका चन्द्रकुमार गिरीले चन्द्रगढीका गोलकिप्पर डिबक्सभित्र अलमलिएको मौकामा बलले जाली चुमाएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षले गोल गर्ने अवसर पाए पनि प्रहार फितलो हुँदा स्कोर भने गर्न सकेनन् । गिरीको गोल नै जितका लागि पर्याप्त भयो ।

प्रतियोगिताको प्लेयर अफ दि म्याच पूर्वेलीका चन्द्रकुमार गिरी भए । उनले नगद २५०० र ट्रफी पाए । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले पुरस्कार प्रदान गरे ।
भोलिको अन्तिम सेमिफाइनल खेल विराट मेगा भेट्रान्स एफसीले आयोजक रातोसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवाहक अध्यक्ष दिपेन चौधरीले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ पाउने चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५०० र ट्रफी पाउने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्